नेसनल हाइड्रोपावरको नाफा बढ्यो
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेसनल हाइड्रोपावरको नाफा ह्वातै बढेको छ । यसअवधिमा यसले ४८ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनी १ करोड ७४ लाख ३७ हजार रुपैयाँ नोक्सानीमा थियो । यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी भने घटेको छ ।
विद्युत् बिक्रीबाट हुने आम्दानी ४.७७% ले घटेर ४ करोड ६८ लाख २९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा विद्युत् बिक्रीमार्फत ४ करोड ९१ लाख ७७ हजार रुपैयाँ कमाएको थियो । विद्युत् बिक्रीबाट हुने आम्दानी घटेपनि सञ्चालन नाफा बढेको र प्रशासनिक खर्च घटेको कारण नाफा बढेको हो ।
अघिल्लो वर्ष ४५ लाख १३ हजार रुपैयाँ रहेको सञ्चालन नाफा यो वर्ष १ करोड १२ लाख ९१ हजार रुपैयाँ पुगेको छ । प्रशासनिक खर्च २६.८७% ले घटेर ९० लाख ३३ हजार रुपैयाँमा आएको छ । असार मसान्तसम्म प्रतिसेयर आम्दानी वार्षिक १४ पैसा र प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ७१ पैसा छ ।