कालिका लघुवित्तको नाफा घट्यो
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ४ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६४.०१ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा १२ करोड ८४ लाख ९५ हजार रुपैयाँ थियो।
खुद ब्याज आम्दानी घटेको खराब कर्जा बढेका कारण लघुवित्तको खुद नाफामा दबाब पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद नाफा १३.४८ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी २७.५१ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १६.३६ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६४.०४ प्रतिशत घटेको छ। समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ३.११ प्रतिशतबाट बढेर ४.१३ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तले इम्पेरमेन्ट चार्जमा ४९ लाख रुपैयाँ छुट्याएको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा भने ३ करोड ६० लाख रुपैयाँ रहेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २८ रुपैयाँ ६५ पैसा घटेर १२ रुपैयाँ ४२ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५९.२६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ७ पैसा रहेको छ।
३७ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १८ करोड २६ लाख ९१ हजार रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको निक्षेप तथा सापटी २.२० प्रतिशत घटेको छ भने कर्जा लगानी २.१२ प्रतिशत घटेको छ।