सिप्रवी सेक्युरिटीजीकाे वीरगञ्जमा पनि शाखा विस्तार
काठमाडौ । सिप्रवी सेक्युरिटीजी प्रालिले वीरगञ्जमा पनि आफ्नो शाखा विस्तार गरेको छ । ब्रोकर नम्बर २२ सिप्रवी सेक्युरिटीजले वीरगञ्जको आदर्शनगरस्थित रूङ्ग्टा मलमा विस्तारित शाखा सञ्चालनमा ल्याएको हो ।
शाखाको शुक्रवार एक कार्यक्रमका बिच नेपाल उद्योग वाणिज्य सङ्घ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले उद्घाटन गरेका थिए ।
ललितपुरस्थित पुलचोकमा मुख्य कार्यालय रहेको सिप्रवीले यसअघि पनि वीरगञ्जमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ । सिप्रवीले गत वर्ष वीरगञ्जमा शेयर लगानीकर्ताहरूका निमित्त सचेतना कार्यक्रम पनि आयोजना गरेको त्यसका महाप्रबन्धक जयन्त श्रीवास्तवले जानकारी दिए।
श्रीवास्तवका अनुसार सिप्रवीले अन्य सेयर ब्रोकरहरूको तुलनामा नयाँ खाता खोल्ने ग्राहकलाई इमेल मार्फत सेयर बजार सम्बन्धी निःशुल्क शैक्षिक सामग्री पठाउने गरेको छ । त्यस्तै सिप्रवीका ग्राहकले सहज रूपमै चलनचल्तीका च्याटीङ् एपहरू जस्तै भाइबर, ह्वाट्सएप, गुगल र फेसबुक म्यासेन्जर मार्फत ब्रोकरलाई आफ्ना गुनासोहरू सुनाएर समाधान खोज्न सक्छन् ।
सिप्रवीले शेयर कारोबार सम्बन्धी सचेतना फैलाउन वीरगञ्जका विभिन्न शैक्षिक संस्थाहरूसँग समेत सहकार्य गरेको छ । आगामी भविष्यमा उनीहरूसँग मिलेर विभिन्न कार्यक्रमहरू गर्ने योजना समेत रहेको श्रीवास्तवले बताए ।