नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ४ अर्ब २९ करोड
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको मर्जरपछि बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब २९ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा १३.१४% ले खुद नाफा वृद्धि गरेकोे हो । यसअवधिमा खुद ब्याज आम्दानी ११०.९६% ले बढेर १२ अर्ब २७ करोड ५८ लाख रुपैयाँ पुगेपछि खुद नाफामा पनि वृद्धि भएको हो ।
यद्दपि, नेपाल इन्भेष्टमेन्ट मेगालाई खराब कर्जाको चाप परेको देखिन्छ । अघिल्लो वर्ष १.४९% रहेको खराब कर्जा बढेर असार मसान्तसम्ममा ४.३५% पुगेको छ । जसका कारण लोन लस प्रोभिजनमा २ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी रकम छुट्याउनु परेको छ । यस बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड बढी पुगेको छ ।
रिजर्भ कोष ६६.२०% ले बढेर करिब २४ अर्ब रुपैयाँ पुगेको छ । यता, चुक्ता पुँजीमा भारी वृद्धि भएका कारण खुद नाफा बढेपछि प्रतिसेयर आम्दानी केही दबाबमा आएको छ । अघिल्लो वर्षको तुलनामा प्रतिसेयर आम्दानी ४.६७% ले घटेर अहिले १६.०७ रुपैयाँमा सीमित भएको छ ।