आईपीओ निष्कासनको प्रस्तावसहित टक्साल पिखुवाखोलाले बोलायो साधारण सभा
काठमाडौं । टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले भदौ ७ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्दै कम्पनीको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
सभा कम्पनीको कार्यालय खिचापाखरी, काठमडौंमा विहान ११ बजे आयोजना हुनेछ । सभाले आईपीओ निष्कासनको प्रस्तावसँगै गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई समेत पारित गर्नेछ । साथै चालू आर्थिक वर्ष ०८०/८१ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।
सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत पारित गर्ने कार्यक्रम तय भएको हो । सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएपछि विद्युत नियमन आयोगको पूर्व स्वीकृति लिई नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गर्नुपर्नेछ । नियामक निकाय बोर्डले स्वीकृति दिएपछि कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।