किंङ्स कलेज र नामीले एआईसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । काठमाडौंस्थित किंङ्स कलेज र नेपाल अप्लाइड म्याथमेटिक्स् एन्ड इन्फरमेटिक्स् इन्स्टिट्युट फर रिसर्च (नामी)ले नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी औपचारिक शैक्षिक पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने घोषणा गरेका छन्।
पछिल्लो समय सूचना प्रविधीको अध्ययन-अध्यापनलाई प्राथमिकता दिएको किंङ्स कलेज र वैज्ञानिक अनुसन्धान केन्द्र नामीले बिहीबार एक साझेदारी सम्झौतामा हस्ताक्षर गर्दै छिट्टै नै ६ महिने परिक्षणात्मक तालिम कक्षा सञ्चालन गर्ने जनाएका हुन्।
यी दुई संस्थाको सहकार्यमा भविष्यमा एआईसम्बन्धी विशिष्ठ तथा एकिकृत पाठ्यक्रमको विकास गरी स्नातक तथा स्नातकोत्तर तहको शिक्षण कार्यक्रम संचालन गर्ने बताइएको छ।
व्यक्ति तथा संस्थाहरूको विशिष्टकृत आवश्यकता परिपूर्ती गर्नको लागि आवश्यक उच्च गुणस्तरीय कार्यक्रमको डिजाइन गरी वितरण गर्नको लागि किंङ्स कलेज र नामीले हातेमालो गरेका हुन्।
सुरुवाती चरणमा सूचना प्रविधी तथा इञ्जिनियरिङ विधामा काम गरिरहेकाहरूलाई लक्षित गरेता पनि पछि विधार्थी तथा एआई क्षेत्रमा रुचि राख्ने जोकसैले पनि यस शिक्षण कार्यक्रममा सहभागी हुन पाउने कलेजले जानकारी दिएको छ।
कलेजका अनुसार यस कार्यक्रममा सहभागी हुन चाहनेहरूले पाइथन प्रोग्रामिङ्ग चलाउन जानेको हुनुपर्नेछ।
‘शिक्षाले मानिसलाई वर्तमान समस्याको समाधान गर्न र समयअनुसार विभिन्न परिस्थितीको सामना गर्न सक्षम गराउनुका साथसाथै समय सान्दर्भिक शीप तथा सामथ्र्यको विकासमा सघाउनुपर्छ भन्ने हाम्रोे सोच रहेको छ,’ कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्याल बताउँछन्, ‘पछिल्लो समय विश्वमै मुलधार प्रवृत्तिको रूपमा विकास भैरहेको एआईको क्षेत्रमा नेपालले पनि फड्को मार्न सकोस् भन्ने उदेश्यको साथ नामीसँग साझेदारी गरिएको हो।’
कलेजले शिक्षालाई परम्परागत चार कोठे शिकाइ प्रणालीको रूपमा मात्र सीमित नराखी आधुनिक समाजमा देखापरिरहेको चुनौतिको सम्बोधन गर्न, नयाँ अवसरहरूबाट लाभ लिन र आधुनिक चालचलन तथा प्रवृत्तिहरूलाई अंगीकार गरी समाज तथा राष्ट्रको विकासमा टेवा पुर्याउन सक्षम नागरिकको श्रृजना गर्न विभिन्न पहल तथा परियोजनाहरू संचालन गरिरहेको अर्यालले जनाकारी दिए।
उनका अनुसार एआईसम्बन्धी सञ्चालन गर्न लागेको शिक्षण कार्यक्रम सोही परियोजनाहरू मध्येको एक हो। यसबाट हासिल ज्ञानले नेपालमा पनि विभिन्न जटिल क्रियाकलापहरू सहजताका साथ सम्पन्न गराउन सकिने एवम् आर्थिक क्षेत्रमा चलायमानता ल्याउन सकिने आफूले विश्वास गरेको बताए।
यसका साथै विद्यार्थीहरूले एआईको क्षेत्रमा रोजगारीका साथसाथै व्यवसायमा पनि सफलता हासिल गर्न सकुन् भन्ने यस कार्यक्रमको अभिप्राय रहेको उनी बताउँछन्।
नामीका सहसंस्थापक तथा निर्देशक डा. विशेष खनालले विश्वव्यापी क्षेत्रमा एआईको तीब्र विकास भइरहेको परिप्रेक्षमा नेपालमा पनि यस क्षेत्रप्रति आममानिसको चासो र रुचि बढिरहेको बताए। यसैलाई ध्यानमा राखी यस विषयबारे प्राज्ञिक शिक्षा प्रदान गरी आवश्यक जनशक्ति तयार गर्ने उदेश्यका साथ शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताए।