निर्वाचन सकिएको १४ महिनापछि दीपक मनाङेले खाए शपथ |
काठमाडौं । मनाङको प्रदेशसभा ख बाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) ले आज सोमवार प्रदेशसभा सदस्यको शपथ लिएका छन् । निर्वाचन सकिएको १४ महिनापछि प्रदेश सांसदका रूपमा शपथ खाएका उनलाई गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले शपथग्रहण गराएका हुन् ।
गत पुस ५ गते थुनामुक्त भएका मनाङेलाई शपथलगत्तै सभामुखले टीका लगाइदिएका थिए । सो अवसरमा उपस्थित उपसभामुख सृजना, प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले हात मिलाएर बधाई दिएका थिए ।
आठ महिना जेल बसाइपछि सर्वाेच्चको आदेशले थुनामुक्त भएका हुन् । यसअघि उनले ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा सर्वाेच्चले गरेको फैसलाका कारण शपथ लिन पाएका थिएनन् । स्वतन्त्र उम्मेदवार बनेका उनलाई वाम गठबन्धनले समर्थन गरेको थियो ।