शेयर कारोबारमा प्यान नम्बर अनिवार्य हुँदै | छलफल गराएर पूर्वाधार तयारीका आधारमा कार्यान्वयनमा ल्याइनेछ : बोर्ड
काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर कारोबारमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने तयारी गरेको छ । बोर्डले प्यानका सम्बन्धमा सरोकारवाला र बजारका सम्बद्ध पक्षसँग छलफल गराएर पूर्वाधार तयारीका आधारमा कार्यान्वयनमा ल्याइने बताएको छ ।
सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएको ‘दोस्रो बजारमार्फत शेयर खरीद गर्दा खरिदकर्ताले अनिवार्य रूपमा स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने’ भन्ने नीतिलाई कार्यान्वयनमा ल्याउन अर्थ मन्त्रालयबाट निर्देशन आएपछि बोर्डले पूर्वाधार तयारीका आधारमा कार्यान्वयनमा ल्याउने स्पष्ट पारेको हो ।
बोर्डलाई त्यस्तो निर्देशन प्राप्त भएलगत्तै प्रणालीगत तथा अन्य पूर्व तयारीका लागि नेपाल स्टक एक्सचेञ्ज र सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई समेत पत्राचार गरिसकिएको नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।
बजारको पूर्वाधार, लगानीकर्ताको वित्तीय साक्षरताको अवस्थालाई दृष्टिगत गरी स्थायी लेखा नम्बर लागू गर्ने र आन्तरिक राजस्व विभागलाई आवश्यक जानकारी गराइने बोर्डको भनाइ छ ।
बोर्डले अनावश्यक हल्लाको पछाडि नलाग्न र सुझबुझ तरिकाले लगानीसम्बन्धी निर्णय गर्न लगानीकर्तालाई आग्रह गरेको छ । लगानीकर्ताको एक टोलीले हिजो आइतवार बोर्डका पदाधिकारीलाई भेट गर्यो । उक्त भेटमा बोर्डका पदाधिकारीहरूलाई स्थायी लेखा नम्बरका बारेमा ध्यानाकर्षण गराएको थियो ।