यूएस बाङ्ला दुर्घटनाका दोषी पाइलट र चालक दल : प्रतिवेदन |
काठमाडौं । २०७४ साल फागुन २८ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको यूएस बाङ्ला एयरलाइन्स दुर्घटनामा पाइलटसहित चालक दल दोषी रहेको जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ । दुर्घटनालगत्तै पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा गठित सात सदस्यीय आयोगले क्याप्टेन अविद सुल्तान मुख्य दोषी रहेको निष्कर्ष निकालेको छ ।
आयोगले आइतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई बुझाएको प्रतिवेदनमा उक्त दुर्घटना हुनुमा क्याप्टेनसहित चालक दलका सदस्य पनि दोषी रहेको बताइएको छ ।
प्रतिवेदनमा चालक दल र उडान सञ्चालन गर्ने अफिसरबीच समन्वयको अभाव देखिँदा क्याप्टेनले उच्च तनाव, फ्रस्टेशन र आवेगको सामना गर्नुपरेको उल्लेख छ ।
प्रतिवेदनमा ढाका–काठमाडौं उडानमा रहेको उक्त जहाजका चालक दलका सदस्य आफ्नो दिशा र अवस्थाबारे पूर्ण रूपमा अनभिज्ञ भएकाले दुर्घटना भएको उल्लेख छ । जहाजले लिनुपर्ने ‘रन वे’लाई सही तरिकाले ‘फलो’ गर्न नसकेको र अन्तिम समयसम्म पनि रन वेमा ल्याउने कुनै प्रयत्न नगरेको निष्कर्ष उक्त प्रतिवेदनले निकालेको छ ।
प्रतिवेदनमा उडान सञ्चालनको स्थापित मापदण्डलाई पनि चालक दलले उल्लंघन गरेको उल्लेख छ । त्यस्तै, स्पष्ट सञ्चार हुन नसकेको विषयलाई पनि आयोगले दुर्घटनाको कारणमा समेटेको छ । आयोगले जहाजमा दुर्घटना हुन सक्ने कुनै पनि कारण नभेटेको प्रतिवेदनमा उल्लेख छ ।
सो दुर्घटनामा ४७ यात्रु र ४ चालक दलका सदस्य गरी ५१ जनाले ज्यान गुमाएका थिए । तीमध्ये २८ जना बंगलादेशी, २२ जना नेपाली र १ चिनियाँ यात्रु रहेका थिए ।