नाडा अटो शो भदौ २६ देखि ३१ सम्म काठमाडौंमा हुने, स्टल बुकिङ लटरी ड्र मार्फत
काठमाडौं । नाडा अटो एक्सपोको १५ औं संस्करणको नाडा अटो एक्सपो २०२३ आउदो २०८० साल भदौ २६ गतेदेखि ३१ गतेसम्म काठमाण्डौ प्रदर्शनीमार्गको भृकुटी मण्डप परिसरमा आयोजना हुने भएको छ । सो प्रदर्शनीमा सहभागी हुने अटोमोवाइल कम्पनीहरुले आफना नयाँ मोडलका सवारी साधनहरुको विक्रीका लागि विभिन्न छुट र सुविधा सहीतका प्याकेजहरु समेत दिने भएकोले यो प्रदर्शनी विगतका प्रदर्शनीहरु भन्दा थप भव्य हुने नाडाले जनाएको छ । यस शोमा व्यवस्थित र बृहत रुपमा आयोजना हुने अपेक्षा राखिएको यस प्रदर्शनीमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिव २० अर्बभन्दा बढीको कारोबार हुने आशा समेत गरिएको छ ।
नाडाले वल्ड ट्रेड सेण्टर, काठमाण्डौको त्रिपुरेश्वरमा स्टल निर्धारणका लागि लटरी ड्र सम्पन्न गरेको छ । नाडा अटो एक्सपोमा सहभागी हुने सवै फर्म÷कम्पनीरुले समान अवसर प्राप्त गरोस भन्ने उद्देश्यले नाडाले लटरी ड्र मार्फत स्टलहरुको वितरण गर्दै आएको नाडाले बताएको छ ।
स्टल बुकिङ्गका लागि नाडाले यस अघि नै सूचना समेत प्रकाशित गरिसकेको थियो । यस नाडा अटो एक्सपो २०२३ मा विगतमा भन्दा उत्साहजनक रुपमा अटोमोवाइल कम्पनीहरु सहभागी भएको नाडाले बताएको छ । प्रदर्शनीमा यस्तो उल्लेख्य र उत्साहजनक सहभागिताबाट नाडा पनि थप उत्साहित भएको छ । नाडा अटो एक्सपोे २०२०, २०२१ र २०२२ कोभिड महामारी लगायत अन्य विभिन्न कारणहरुबाट आयोजना हुन नसकेको अवस्थामा यस वहुप्रतिक्षित नाडा अटो शो २०२३ मा अटोमोवाइल कम्पनीहरुको अत्यधिक सहभागिता हुने नाडाले बताएको छ ।
दर्शकहरुले यस प्रर्दशनीमा विद्युतिय सवारी साधनहरु लगायत चार वर्षपछि हालसम्मका नयाँ मोडलहरुको अवलोकन गर्न पाउने नाडाको दावी रहेको छ । यस प्रदर्शनीमा विभिन्न ब्राण्ड र मोडेलका सवारी साधनहरु र त्यसमा प्रयोग हुने टायरटयूव, लुविकेण्टस, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु लगायतका विभिन्न सामग्रीहरु सहित कूल ८२ वटा स्टलहरु प्रदर्शनीमा रहने छन् ।
त्यसैगरी सो प्रदर्शनीमा अटोमोवाइल व्यवसायसंग प्रत्यक्ष सरोकार राख्ने बैंक तथा इन्स्योरेन्स जस्ता कम्पनीहरु समेतको उल्लेख्य रुपमा सहभागिता रहनेछ । स्मरणीय छ, विभिन्न अवरोधहरुका वावजुद पनि नाडाले गत बर्ष भव्यताकासाथ नाडा इभि एक्सपो २०२२ समेत सम्पन गरेको थियो ।