सिटिजन्स लाइफको आइपीओमा आजसम्म आवेदन दिन सकिने
काठमाडौं । सिटिजन्स लाइफ इन्सुरेन्सको आइपीओमा आवेदन दिने आज (साउन १४ गते) आइतबार अन्तिम दिन हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले आज कार्यालय समयसम्म यसमा आवेदन दिन सकिनेछ । इन्सुरेन्सले असार ३१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ बिक्री खुला गरेको हो ।
यस इन्सुरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३०% ले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यसको १०% अर्थात् ११ लाख २५ हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरिएको हो ।
कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा आइपीओ जारी गरेको हो । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
रेटिङ एजेन्सी इक्रा नेपालले सिटिजन्स लाइफको आइपीओलाई ‘इक्राएनपी त्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आइपीओमा एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।