इकोनोमिक मिडिया सोसाईटीमा नयाँ नेतृत्व |
काठमाडौं । आर्थिक समाचारहरुलाई प्राथमिता दिने मिडियाहरुको संगठन इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) मा नयाँ नेतृत्व चयन गरिएको छ । इम्सनको शुक्रबार सम्पन्न पहिलो वार्षिक साधारणसभाले ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
विकासन्यूज डटकम तथा देशविकास साप्ताहिकका रामकृष्ण पौडेलको अध्यक्षतामा गठित नयाँ कार्यसमितिमा आर्थिकन्यूज डटकमका इन्द्रबहादुर बानियाँउपाध्यक्ष चयन भएका छन् । महासचिवमा कर्पोरेटनेपाल डटकमका सीताराम विलासी, सचिवमा मेरोलगानी डटकमका परमेश्वर अधिकारी, कोषाध्यक्षमा अर्थबजार डटकमका डिल्लीप्रसाद सापकोटा सर्वसम्मत चयन भएका हुन् ।
त्यस्तै, सदस्यहरुमा बिजशाला डटकमका सोमनाथ बास्तोला, मेरोअटो डटकम तथा चाणक्य मासिका रामकृष्ण गजुरेल, बिजखबर डटकमका रामराजा श्रेष्ठ र विजपाटी डटकमका मोहम्मद अज्मत अली पनि सर्वसम्मत चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष पौडेलले देशको आर्थिक विकासमा आर्थिक सञ्चार माध्यमहरुको भूमिका महत्वपूर्ण रहेको र यस्तो भूमिका थप प्रभावकारी बनाउन इकोनोमिक मिडियाहरुको संगठित संस्था स्थापना गरिएको बताए । उनले पछिल्लो समय आर्थिक सञ्चार माध्यमहरुको संख्यात्मक वृद्धिसँगै प्रभाव पनि बढ्दै गएको बताए ।