ज्योति विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न
काठमाडौं । ज्योति विकास बैंकले १५औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वका निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत देशभरिका विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयबाट संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू आयोजना गरेको छ ।
वातावरण, स्वास्थ्य, सशक्तीकरण लगायतका विभिन्न क्षेत्रहरूमा सहयोग पुर्याउने हेतुले उक्त कार्यहरू गरिएको बैंकले जनाएको छ ।
शारीरिक तवरले फरक बालबालिकाहरूका लागि कृत्रिम हात प्रदान गर्न इनेबल नेपालसँग सहकार्य गर्न बैंकले सम्झौता गरेको हो । इनेबल नेपालसँगको सहकार्यमा बैंकले १५ जना बालबालिकाहरूलाई ‘ थ्रि डि प्रिन्टेड प्रोस्थेटिक ह्यान्ड्स प्रदान गर्नेछ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा इनेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । विगत ३३ वर्षदेखि जनस्वास्थ्य सरोकारका कार्यक्रम र सेवा सञ्चालन गर्दै आएको ‘फेक्ट नेपाल’सँगको सहकार्यमा बैंकले १५ विभिन्न ठाउँहरूमा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरूको आयोजना गर्न सम्झौता गरेको छ ।
फेक्ट नेपालको प्राविधिक सहयोगमा स्वस्थ जीवनयापनको सचेतना मूलक कार्यक्रमदेखि निःशुल्क स्वास्थ्य शिविर जस्ता विभिन्न कार्यक्रमहरू बैंकले गर्ने प्रतिबद्धतासहितको सम्झौता गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा ‘फेक्ट नेपाल’का कार्यकारी निर्देशक गौरी प्रधानले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
वार्षिकोत्सवको अवसरमा बैंकको धनगढी शाखाले हरियाली प्रवर्द्धनका लागि वृक्षारोपण कार्यक्रमको पनि आयोजना गरेको छ । धनगढी उप–महानगरपालिकासंगको समन्वयमा बैंकले वृक्षारोपण गरेको हो ।
सोही वार्षिकोत्सवको अवसरमा बैंकको मुर्गिया शाखाले सैनामैना नगरपालिकाको वडा नं ५, ६ र ७ का सार्वजनिक स्थानहरूका लागि ५० थान डस्टबिन वितरण गरेको छ । स्वच्छ र सफा समुदायका लागि बैंकको मुर्गिया शाखाको सक्रियतामा उक्त कार्यक्रम गरिएको हो ।
त्यस्तै बैंकको हसुलिया शाखा र केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम पनि गरिएको थियो । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा यी दुई स्थानमा रक्तदान कार्यक्रम गरिएको हो ।
वार्षिकोत्सवमा बैंकले लमजुङस्थित अपाङ्ग संरक्षण समाजसँगको साझेदारीमा अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न सहायता सामग्रीहरू प्रदान गरेको छ । बेंसीशहर शाखा कार्यालयमा वार्षिकोत्सव कार्यक्रमको अवसरमा बैंकले उक्त सहायता सामग्रीहरू वितरण गरेको हो ।