स्याफ्रुबेसी–रसुवागढीको स्तरोन्नति शुरू | स्तरोन्नति चीनको अनुदान सहयोगमा, घर र टहरा हटाउन थाल्यो विभागले
काठमाडौं । स्याफ्रुबेसी–रसुवागढी सडकको स्तरोन्नतिको काम शुरू भएको छ । चीनसँगको रसुवागढी नाकालाई लक्षित गरी बनाउन लागिएको उक्त सडक खण्डको स्तरोन्नतिका लागि हाल सडकमा पर्ने घरटहरा र बिजुलीका पोल हटाउने कार्य सडक विभागले गरिरहेको छ । आफ्नो अनुदान सहयोगमा चीनले बनाइदिन लागेको उक्त सडक खण्डको स्तरोन्नतिका लागि चीनले टेण्डरसमेत गरिसकेकाले अब काम थाल्न शुरू गरिएको सडक विभागले बताएको हो ।
सडक विभागमा विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख कुवेशकुमार शर्माले भने, ‘अब काम थाल्न शुरू गरिएको छ ।’ स्याफ्रुबेसी–रसुवागढी सडकको विस्तृत परियोजना प्रतिवेदन तयार भएर विभागले त्यसलाई स्वीकृत गरेपछि चीनले टेण्डर गरेको थियो ।
सडक विभागका अनुसार १६ किलोमिटर लम्बाइ रहेको उक्त सडक खण्ड दुई लेनमा विस्तार गरिनेछ । हाल यो सडक खण्ड साँघुरो हुँदा रसुवागढीबाट समान लिएर आउने गाडीलाई पनि चल्न मुश्किल पर्ने अवस्था छ । यो खण्डका केही ठाउँमा जटिल भौगोलिक अवस्था भएकाले पनि स्तरोन्नतिको काम चुनौतीपूर्ण छ ।
घर टहरा हटाउने र विद्युत्का पोल सार्नेलगायतका काम सडक विभागले सकाएलगत्तै चीनले सडक निर्माणको काम शुरू गर्ने महाशाखा प्रमुख शर्माले जानकारी दिए । स्याफ्रुसम्मको सडकको स्तरोन्नतिको काम चीनले ३ वर्षभित्र सकाउने उनले बताए । नेपाली सेनाले मैलुङदेखि स्याफ्रुबेसीसम्मको १७ किलोमिटर सडक निर्माण गरिसके पनि स्तरोन्नति गर्न बाँकी छ । हाल स्याफ्रुबेसीबाट धुन्चे हुँदै आउने सडकमार्गको स्तरोन्नति भइरहे पनि भूगोलका हिसाबले यो निकै जटिल छ ।
सेनाले ट्रयाक खोलेको बेत्रावती–मैलुङ–स्याफ्रु सडक खण्डको पनि नेपाल सरकारले आफ्नै लगानीमा कालोपत्रे गर्ने तयारी गरेको छ ।
तातोपानी नाका बन्द भएपछि रसुवागढी नाकासम्म पुग्ने यो सडकलाई सवारीमैत्री बनाउन सरकारले प्रयास थालेको हो । यो खण्डको पनि स्तरोन्नति भए चीनको रसुवागढी नाका पुग्न सहज किसिमको मार्ग तयार हुनेछ ।