आँखुखोला जलविद्युतकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंग नियुक्त
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद निष्काशन गर्नका लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड(NabilInvestmentBan)लाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको छ ।
आँखुखोला जलविद्युतकाे संचालक समितिको निर्णयानुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई १ः१.५ को अनुपातमा हकप्रद जारी गर्न लागिएको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा आँखुखोला जलविद्युतका अध्यक्ष राम श्रेष्ठ तथा शेयर रजिष्ट्रार सम्बन्धि सम्झौतामा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रतिक्षा शर्मा र नबिल इन्भेष्टमेन्टका कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन् ।
काठमाण्डौंबाट करिब १३२ किलोमिटर टाढा धादिङ्गस्थित आँखुखोला बुढीगण्डकी नदीको प्रमुख सहायक नदीहरु मध्ये एक हो । आँखुखोलाको क्याचमेन्ट क्षेत्र करिब ६३३ किलोमिटर छ । औसत बार्षिक प्रवाह ५८.३८ क्युमेक अनुमान गरिएको छ । ३४.५ क्युमेकको डिस्चार्ज ४० प्रतिशत भन्दा बढी सम्भाव्यता भएको मानिएको छ । कम्पनीको विद्युत उत्पादन क्षमता ८.४ मेगावाट रहेको छ र उक्त उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जडान गरिएको छ ।
आज भएको उक्त सम्झौतामा नबिल इन्भेष्टमेन्टले आँखुखोला जलविद्युतका शेयरधनीहरुलाई हकप्रद शेयर निष्काशन सम्बन्धि कार्यका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट हकप्रद शेयर निष्काशनका लागि अनुमति माग गरिने बताइएकाे छ ।