लघुवित्तले गैरकानुनी ढंगले ऋणीको सम्पत्ति लिलामी गरेको भए राष्ट्र बैंकमा उजुरी गर्न सकिने
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले गैरकानुनी ढंगले ऋणीको सम्पत्ति लिलामी गरेको भएमा नेपाल राष्ट्र बैंकमा उजुरी गर्न सकिने भएको छ।
हालै राष्ट्र बैंकमा लघुवित्त वित्तीय संस्थाका ऋणीहरुको गुनासो सुनुवाइका लागि अलग्गै गुनासो सुनुवाइ डेस्क स्थापना गरेको छ। यदि कुनै लघुवित्तले गैरकानुनीबाट ऋणीको सम्पत्ति लिलामी गरेको भएमा अब सोही गुनासो सुनुवाइ डेस्कमा ऋणीहरुले आफ्ना उजुरी वा गुनासो दर्ता गर्न सक्नेछन्।
केन्द्रीय बैंकले पनि आज एक सूचना जानकारी गर्दै यसबारेमा लघुवित्तका ऋणीहरुलाई बेलैमा आफ्ना गुनासोबारे जानकारी गराउन आग्रह गरेको छ।
लघुवित्तले राष्ट्र बैंकले जारी गरेका निर्देशनको पालना नगरेको, तोकेभन्दा बढी ब्याजदर वा अन्य शुल्क लिएको, गैरकानुनी ढंगमा सम्पत्ति लिलामी गरेको, उद्यम–व्यवसाय गर्न असहयोग गरेकोलगायत अन्य जुनसुकै गुनासो भएमा गुनासो सुनुवाइ डेस्कमा दर्ता गर्न सकिनेछ।
आफ्ना गुनासा बेलैमा दर्ता गरी सोको यथोचित समाधान गर्नेतर्फ पहल गर्न सम्बन्धित सबै ऋणीलाई राष्ट्र बैंकले आग्रह गरेको छ।
यो डेस्कमा आफ्ना गुनासा पैसा तिर्नु नपर्ने (टोल फ्री) फोन नं. १८१०५००००२२ मार्फत टिकाउन सक्नेछन्। यस्तै राष्ट्र बैंकको अनलाइन गुनासो पोर्टल gunaso.nrb.org.np बाट वा ई–मेल [email protected] मार्फत वा कार्यालय समयमा राष्ट्र बैंकको जुनसुकै कार्यालयमा निवेदन दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।