झिटीगुण्टाको प्रभावकारी कार्यान्वयन हुँदै | तोकिएभन्दा बढी ल्यापटप र मोबाइल भेटिए विमानस्थलमै जफत, एउटा प्रज्ञापनपत्रबाट दुईवटा गाडी पनि अब नछिर्ने
काठमाडौं । सरकारले दुई वर्षअघि ल्याइएको झिटीगुण्टासम्बन्धी सूचनालाई कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । भन्सार विभागका महानिर्देशक तोयम रायाले विदेशबाट आउँदा रक्सी ल्याउन कडाइ गरिएकोमा अब ल्यापटप र मोबाइलमा पनि कडाइ गरिने बताए । काठमाडौंमा हिजो शुक्रवार भएको एक कार्यक्रममा महानिर्देशक रायाले त्यस्तो बताएका हुन् ।
उनले भने, ‘अब ल्यापटप र मोबाइल पनि सूचनामा उल्लेख भएअनुसार भन्दा बढी आयात भएको पाइए जफत गर्छौं ।’ उनले कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा समस्या देखिएको भन्दै उनले भन्सार विभागले त्यस्ता गतिविधिलाई अब नछाड्ने बताए ।
उनले भने, ‘कानूनले भनेभन्दा धेरै केही पनि हुँदैन, कानुनअनुसारका कुनै पनि कुरा छाडिँदैन, एउटा प्रज्ञापनपत्रबाट दुईवटा गाडी छिर्दैन ।’
रायाले भन्सारमा गेट इन्ट्री मोडल कार्यान्वयन गरिएको बताउँदै अब एउटै प्रज्ञापनपत्रबाट दुईवटा गाडी छिर्न नसक्ने बताए । उनले बाह्य व्यापारलाई सहज बनाउन भन्सार प्रणाली सुधारको काम भइरहेको बताए । उनले भने, ‘सुधारका काम भइरहेका छन्, अटोमेशनमा लैजान्छौं ।’
भन्सारको झन्झटले लागत बढायो
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भन्सारमा हुने ढिलासुस्तीले नेपालको अन्तरराष्ट्रिय व्यापारको लागत बढाएको बताए । व्यवसायिक लागत बढ्दा अन्तरराष्ट्रिय रूपमा नेपाल प्रतिस्पर्धी बन्न नसकेको उनको भनाइ थियो । उनले भने, ‘लजिस्टिकका कारण मात्रै व्यापारको ५० प्रतिशत लागत बढेको छ, लागत कम गर्न सरकार र निजीक्षेत्र दुवै मिलेर काम गर्नुपर्छ ।’
नेपाल फ्रेट फर्वाडर्स एशोसिएशनका पूर्वअध्यक्ष राजन शर्माले भन्सार सुधारका क्षेत्रमा काम भइरहे पनि त्यो पर्याप्त नभएको बताए ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष सुलभ अग्रवालले भन्सार क्लियरेन्समा ढिलाइ हुँदा डिटेन्सनको समस्याले व्यवसायीलाई अप्ठेरो परेको बताए ।