प्रम ओली स्वीट्जरल्याण्डबाट फर्किए | नेविसंघले प्रम ओलीलाई देखायो कालो झण्डा, ४ जना प्रहरीको नियन्त्रणमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज शनिवार नेपाल फर्किएका छन् । उनी स्वीट्जरल्याण्डको डाबोस शहरमा आयोजित विश्व आर्थिक मञ्चको ४९औं बैठकमा सहभागी भएर स्वदेश फर्किएका हुन् ।
स्वीट्जरल्याण्डमा आयोजित उक्त बैठकमा भाग लिन प्रम ओलीको नेतृत्वको प्रतिनिधिमण्डल गत आइतवार राति त्यसतर्फ प्रस्थान गरेको थियो । प्रम ओलीलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, सभामुख कृष्णबहादुर महरालगायतले विमानस्थलमा स्वागत गरेका थिए ।
नेविसंघले देखायो कालो झण्डा
प्रम ओली काठमाडौंस्थित त्रिभुवन विमानस्थल आइपुग्नासाथ नेविसंघका कार्यकर्ताहरूले विमानस्थलभित्रै कालो झण्डा देखाएका छन् । विमानस्थलको आन्तरिक टर्मिनलनजिकै भीभीआईपी कक्षकै अगाडि नेविसंघका कार्यकर्ताहरूले प्रदर्शन गर्न थालेपछि ४ जना नेविसंघका नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टलगायत नेताहरू निरञ्जन थापा, सुवास घिमिरे, सुदीप अधिकारी रहेका छन् । उनीहरूले प्रतिपक्षी दलको विरोधका बाबजुद पारित भएको चिकित्सा शिक्षा विधेयकको विरोधमा प्रम ओलीलाई कालो झण्डा देखाएका थिए ।
के भने प्रम ओलीले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा ?
विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले डा. गोविन्द केसीले जारी राखेको अनशनको कुनै औचित्य नभएको प्रतिक्रिया दिएका छन् । चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित भएपछि डा. केसीले प्रधानमन्त्रीको राजीनामा मागेका थिए ।
उनले सबैले आ–आफ्नो मर्यादामा बस्नुपर्ने बताउँदै भने, ‘संविधान, कानून र संस्थाहरूभन्दा माथि कोही छैन । सबैले यसलाई मर्यादा गर्न सिक्नुपर्छ ।’
तपाईंले गोविन्द केसीसँग गरेको सम्झौताविपरीत संसद्बाट चिकित्सा विधेयक पारित भएको छ, यसमा के भन्नुहुन्छ भन्ने पत्रकारहरूले प्रश्नमा प्रम ओलीले भने, ‘कुनै पनि चिजको प्रक्रिया हुन्छ ।’
संसदमा विपक्षी दलको विरोधका बाबजुद विधेयक पारित भएको विषयमा प्रधानमन्त्री ओलीले लोकतन्त्रमा यस्तो हुनु स्वाभाविक हो भन्दै उधुम विषय नभएको प्रतिक्रिया दिए । नेकपा अध्यक्ष प्रचण्डले भेनेजुएलाको विषयमा जारी गरेको वक्तव्यका विषयमा प्रम ओलीले भने ‘म भर्खर आएको छ, यसबारेमा बुझ्छु ।’