राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा करिब दुई अर्ब |
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ९६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नेपाल फाइनान्सीयल रिपोर्टिङ्ग स्टान्डर्ड (एनएफआरएस) प्रतिवेदन अनुसार बैंकले ६ महिना अवधिमा सो नाफा कमाएको हो ।
एनआईडीसी डेभलपमेन्ट बैंक प्राप्तीपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ४७ लाख पुगेको छ । यस अवधिमा बैंकले एक खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने एक खर्ब ३४ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ ।
ट्रेजरी विल्स र अन्य लगानीमा बैंकले ४५ अर्ब रुपैयाँ प्रवाह गरेको छ । यस बैंकले २५३ भुकम्प पीडितहरुलाई ४२ करोड १५ लाख प्रवाह गरेको छ ।
सरकारी स्वामित्वको यस बैंकको आधार दर ६.३३ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ७३.६२ प्रतिशत मात्र रहेको छ । कूल ग्राहक संख्या ३० लाख रहेको बैंकका ७ लाख ५० हजार मोबाईल बैंकिङ्ग प्रयोगकर्ता र चार लाख ९१ हजार डेबिट कार्ड होल्डर रहेका छन् ।
बैंकले ʽक्लिन आरबीबी, स्मार्ट आरबीबीʼ भन्ने नाराका साथ बैंकले चालू आवमा २० शाखालाई स्मार्ट ब्राञ्चको रुपमा सञ्चालनमा ल्याउने जानकारी दिएको छ । साथै बैंकले चालू आवमा देशका ११ स्थानमा आफ्नै भवन निर्माण गर्ने समेत बताएको छ । ५४ औं वार्षिकोत्सवको अवसर पारेर बैंकले माघ १० गतेदेखि नक्साल, पल्चोक र हेटौंडा शाखालाइ स्मार्ट ब्राञ्चको रुपमा सञ्चालनमा ल्याएको छ भने जजरकोट, रूकुम, मुस्ताङ गरि तीन शाखा विस्तार समेत गरेको छ ।
बैंकले सातै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरिसकेको छ भने ७७ वटै जिल्लामा कूल २१७ शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । चालू आवमा २३ नयाँ शाखा २५ शाखा रहित बैंकिङ्ग र ३५ एटीएम थप गर्ने बैंकको योजना छ ।