आजदेखि धनगढीबाट पनि शुरू भयो श्रम स्वीकृति | काठमाडौं धाउनुपर्ने सुदूरपश्चिमेलीको बाध्यता हट्यो
काठमाडौं । आज शुक्रवारदेखि सुदूरपश्चिमबाट पनि श्रम स्वीकृति प्रदान गर्न थालिएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवाहरूलाई विकेन्द्रित गरी सरल र सहज बनाउन कर्णाली प्रदेशको राजधानी धनगढीबाट उक्त सेवा प्रदान गर्न थालिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको हो ।
वैदेशिक रोजगारीमा जानेहरूका लागि श्रम स्वीकृति लिन मुलुभरबाट काठमाडौं नै धाउन पर्ने बाध्यता हटाउन सातै प्रदेशबाट श्रम स्वीकृति दिने सरकारी नीतिअनुसार धनगढीबाट पनि श्रम स्वीकृति दिन थालिएको मन्त्रालयले बताएको छ ।
मन्त्रालयले धनगढीको प्रदेशगत श्रम तथा रोजगार कार्यालयमा वैदेशिक रोजगार इकाइ गठन गरेको छ । मन्त्रालयका अनुसार हाललाई सोही कार्यालयबाट पहिलो चरणमा पुनः श्रम स्वीकृति प्रदान गरिनेछ ।
यस्तै, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्थाहरू र तालीम एवम् अभिमुखीकरण संस्थाहरूको अनुगमन गर्ने, सरोकारवालाहरूबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवम् गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेजस्ता काम उक्त कार्यालयबाट हुने बताइएको छ ।
हालसम्म प्रदेश नम्बर २ को जनकपुर, प्रदेश नम्बर ५ को बुटवल, प्रदेश ४ को पोखरा र प्रदेश ६ को सुर्खेतबाट सेवा उपलब्ध गराउन थालिसकिएको मन्त्रालयले जानकारी दिएको छ ।
निकट भविष्यमै प्रदेश १ को राजधानी विराटनगरबाट पनि श्रम इजाजत सेवा सञ्चालनको व्यवस्था मिलाउने तयारी भइरहेको मन्त्रालयले बताएको छ ।