ऊर्जामन्त्री पुनसँग जापानी प्रतिनिधिमण्डलले गर्यो भेट |
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालको भ्रमणमा रहेको जापानी प्रतिनिधीमण्डलबीच आज भेटवार्ता भएको छ । जापानको कृषि तथा वन मन्त्रालयका अन्तरराष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामी नाकादाको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले बिहीवार सिंहदरवारस्थित ऊर्जामन्त्रालयमा भेटवार्ता गरेको हो ।
भेटमा ऊर्जामन्त्री पुनले जापान नेपालको पुरानो विकास साझेदार मुलुक भएको भन्दै नेपालको विकासमा जापानले गर्दै आएको सहयोगप्रती धन्यवाद ज्ञापन गरेका थिए ।
उनले उर्जा र जलस्रोत मन्त्रालयमातहतका विभिन्न आयोजनमा जापानले गर्दै आएको प्राविधिक र आर्थीक सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोग निरन्तरता हुने विश्वास व्यक्त गरे ।
नेपालको कृषि क्षेत्रको विकासको लागी सिँचाइको महत्वपूर्ण भुमिका हुने भन्दै मन्त्री पुनले त्यसका लागी मन्त्रालयले भेरी ववई, रानी जमरालगायतका केही ठूला आयोजना अघि बढाइरहेको जानकारी दिए ।
मन्त्री पुनले जलउत्पन्न प्रकोप नियन्त्रयण केन्द्र स्थापना गर्न जापानले सहयोग गरेको जानकारी दिँदै सिंचाई र उर्जा क्षेत्रको अध्ययन अनुसन्धानमा आगामी दिनमा समेत सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
अन्तरराष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामीले जापानले नेपाललाई आर्थीक र प्राविधीक सहयोग गर्दै आएको जानकारी दिँदै आगामी दिनमा अझै सहयोग गर्न जापान सरकार तयार रहेको बताए । उनले नेपाल कृषी प्रधान देश रहेको भन्दै कृषी क्षेत्रमा सहयोग गर्न आफुहरु तयार रहेको धारणा राखे ।
उनले सिँचाइ र पानीको क्षेत्रमा जापानको लामो अनुभव भएको भन्दै त्यसको ज्ञान वाड्न आफुहरु इच्छुक रहेको बताए । भेटमा नेपालका लागि जापानी राजदूत मसामिची सैगो समेत सहभागी थिए ।
उहाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका जापान भ्रमण र जापानी परराष्ट्रमन्त्रीको नेपाल भ्रमणको वेला कृषी क्षेत्रमा सहकार्य गर्ने सहमति भएको भन्दै यो भ्रमणदल नेपाल आउनु त्यसको निरन्तरता भएको जानकारी दिए ।
भ्रमण दलमा कृषि मन्त्रालयमा कार्यरत उच्च अधिकारीका साथै, सिंचाई क्षेत्र हेर्ने इन्जिनियर, वन विज्ञ र निजि क्षेत्रका व्यवसायी समेत सहभागी थिए ।