चिकित्सा विधेयक पारित गर्न भोलि पनि कोसिस हुन्छ : सभामुख महरा |
काठमाडौं । सभामुख कृष्णबहादुर महराले भोलि शुक्रवार बस्ने संसद् बैठकमा पनि चिकित्सा शिक्षा विधेयक पारित गर्न कोसिस गर्ने बताएका छन् । उनले आज बिहीवार पत्रकारहरूसँग कुरा गर्दै संसद् बैठकमा पनि चिकित्सा शिक्षा विधेयक पारित गर्न शान्तिपूर्ण तरिकाले पहल गर्ने बताएका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै सरकारले ल्याउन लागेको उक्त विधेयकको विरोध गर्दै संसद् अवरुद्ध गर्दै आएको छ ।
सभामुख महाराले भने, ‘भोलि पनि शान्तिपूर्ण तरिकाले चिकित्सा शिक्षा विधेयक पास गर्न कोसिस हुन्छ, अस्पतालको विषय र चिकित्सा शास्त्र विधेयकको विषय अलगअलग भएकाले कांग्रेसले संसद् अवरुद्ध गर्न आवश्यक छैन ।’
उनले उक्त विधेयक पारित गर्न सत्तापक्ष र प्रतिपक्षबीचको छलफलबाट सहमति खोज्ने बताए । उनले भने, ‘सत्तापक्ष जसरी पनि गर्नुपर्छ भन्नेमा छ, प्रतिपक्ष जसरी पनि रोक्न खोज्छ, यसमा मैले मिलाउन खोज्ने हो ।’ भोलिसम्ममा केही न केही निष्कर्ष निस्कनेमा आफू आशावादी रहेको महराको भनाइ थियो ।