आइएमई लाइफ इन्सुरेन्सको आइपीओ आज शनिबार बाँडफाँट हुँदै, ९ लाख ६० हजार जनाले सेयर हात पार्ने
काठमाडौँ । आइएमई लाइफ इन्सुरेन्सको आइपीओ आज शनिबार (असार ३० गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार शनिबार (असार ३० गते) बिहान ११ बजे सिटिसी मल सुन्धारा, काठमाडौंमा रहेको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट गर्ने समय तालिका तय भएको छ ।
यता, आइएमई लाइफको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा १.६४ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १२ लाख ९० हजार ७४१ जनाले कुल १ करोड ५७ लाख ८७ हजार १५० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ९ लाख ६० हजारले सेयर हात पार्नेछन् ।
बाँकी ३ लाख ३० हजार ७४१ जनाको भने हात खाली हुनेछ । कम्पनीले असार २१ गतेदेखि २५ गतेसम्म १३६.९१ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २३६.९१ रुपैयाँको दरले सर्वसाधारणलाई ९६ लाख कित्ता सेयर आइपीओ बिक्री खुला गरेको थियो । यो आइपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।