असार ३० गतेदेखि एकिकृत कारोबार गर्दै नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रक्रिया पुरा गरी असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । यी दुवै कम्पनीले एक आपसमा गाभिएपछि नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् ।
एकिकृत कारोबार प्रयोजनको लागि दुवै कम्पनीकोे असार २९ गते एक दिन सम्पूर्ण बैंकिङ सेवाहरु बन्द रहनेछ । असार २२ गते नेपाल राष्ट्र बैंकले नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो । नेशनल माइक्रोफाइनान्स लघुवित्त र समिट लघुवित्तबीच १ः०.७३ शेयर स्वाप रेसियोमा मर्जरमा गएका हुन् ।
यी दुवै लघुवित्तबीच गत वर्ष असोज २६ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो । यो मर्जरलाई राष्ट्र बैंकले गत पुस ७ गते सैद्धान्तिक सहमति प्रदान गरेको थियो । मर्जरपश्चात बन्ने संस्थाको केन्द्रीय कार्यालय काभ्रेको बनेपा–१० मा रहनेछ ।