पोखरामा टाटा एनआरजी सार्वजनिक, दुईवटा विक्री र चारवटाको बुकिङ |

काठमाडौं । टाटा मोटर्सको नयाँ उत्पादन टाटा एनआरजी पोखरामा सार्वजनिक गरिएको छ । टाटा मोटर्सका उत्पादनहरूको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले दीप मोटर्स प्रालिमार्फत उक्त उत्पादन सार्वजनिक गरेको हो ।
ग्राहकहरूको बढ्दो आकांक्षालाई दृष्टिगत गरी टाटा मोटर्सले एसयूभीबाट प्रेरित सवारीसाधन शुरू गरेको हो । जसलाई ‘नेपालको सबैभन्दा योङ्गेस्ट कम्प्याक्ट युटिलिटी भेइकल (सीयूभी) को रूपमा राखिएको छ । स्तरीय डिजाइन र प्रविधिका कारण नेपालमा टाटा एनआरजीले लोकप्रियता पाउनेमा कम्पनी विश्वस्त रहेको छ ।
१.२ लिटरको रिभोट्रोन पेट्रोल इञ्जिन रहेको टाटाको एनआरजी ५ स्पिडको म्यानुअल ट्रान्समिसनमा उपलब्ध हुनेछ । टाटा एनआरजी तीनवटा आकर्षक रंग मालाबार सिल्भर, क्यानयोन अरेन्ज र फुजी ह्वाइट (यसमा कालो छत र रूप रेल) मा उपलब्ध रहेको कम्पनीले बताएको छ ।
बुधवारबाट विक्री शुरू गरिएको उक्त गाडीको शुरूवाती मूल्य २९.५५ लाख तोकिएको छ । उक्त गाडीको सार्वजनिक कार्यक्रममा नै दुईवटा विक्री र चारवटाको बुकिङ भएको कम्पनीले जानकारी गराएको छ ।