लाइफ इन्स्योरेन्स कर्पोरेशनले बोलायो साधारण सभा, लाभांश नदिने
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले साउन १७ गते २०औं वार्षिक साधारण सभा बोलाएको छ । असार २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लिसारा रिसेप्सन भगवली बहाल नक्साल, काठमाडौंमा अपरान्ह ४ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै संस्थापक शेयरधनीहरूको तर्फबाट नियुक्त सञ्चालकको नियुक्ति अनुमोदन समेत गर्नेछ । कम्पनीले शेयर संरचना परितर्वनको प्रस्ताव समेत सभाका लागि तय गरेको छ ।
हाल कायम संस्थापक तर्फबो ७० प्रतिशत र सर्वसाधारण तर्फबो ३० प्रतिशत शेयर संरचना परिवर्तन गरी संस्थापक तर्फ ६५ प्रतिशत र सर्वसाधारण तर्फ ३५ प्रतिशत कायम गर्ने प्रस्ताव कम्पनीले गरेको हो । यसका लागि आवश्यक नियमावली संशोधन गरिने र त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । यस वर्ष लगानीकर्ताको हात भने कम्पनीले खाली बनाएको छ ।
यस अघिका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको कम्पनीले यस वर्ष भने लाभांश प्रस्ताव गरेको छैन् । यस अघिको आर्थिक वर्ष ०७६/७७ मा कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
कम्पनीले हालसम्म वितरण गरेको लाभांशको अवस्थालाई हेर्दा आर्थिक वर्ष ०७४/७५ को मुनाफाबाट भने सर्वाधिक ७० प्रतिशत लाभांश वितरण गरेको थियो । उक्त वर्ष कम्पनीले ३४ दशमलव ४६ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३५ दशमलव ५३ प्रतिशत लाभांश वितरण गरेको हो ।
२०औं वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन ९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा साउन ८ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।