विदेशी विनिमय सञ्चिति १४ खर्ब ८० अर्ब, साढे नौ महिनाको आयात धान्ने
काठमाडौं । नेपालमा एक महिनाको अवधिमा साढे १० अर्ब रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति थप भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म विदेशी विनिमय सञ्चिति १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । वैशाख मसान्तसम्म विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ रहेको थियो ।
गत असार मसान्तसम्म विदेशी विनिमय सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । त्यसयता सञ्चितिमा २१.८ प्रतिशतको सुधार भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति ११ अर्ब ३० करोड रहेको छ । गत असारमा यस्तो सञ्चिति ९ अर्ब ५४ करोड डलर थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार जेठसम्म रहेको विदेशी मुद्राको सञ्चितिले ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ । यो मुद्राले ११.२ महिनाको वस्तु आयात धान्न सक्ने क्षमता राख्छ । नेपाल राष्ट्र बैंकका अनुसार यो अवस्था बाह्य क्षेत्र व्यवस्थापनमा ‘सहज’ मानिन्छ ।