सट्टेबाजीसँग सम्बन्धित वेवसाइटको प्रचार गरेको आरोपमा बल्छि ध्रुबे, राजु मास्टरलगायतका कलाकारमाथि मुद्दा दर्ता
काठमाडौँ । वन एक्स बेटको प्रचार गरेको अभियोगमा पक्राउ परेका युट्युबर तथा कलाकारहरूविरूद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएकाे छ । बल्छि ध्रुबे, राजु मास्टर लगायतका कलाकार र युट्युबहरुविरुद्ध अभियोगपत्र दर्ता गरिएकाे हाे ।
मरिचमान श्रेष्ठ, राजु पौडेल, दिनेश खड्का, अलिश राई, अनिता धिताल, जलन घर्तीमगर, गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अभियाेग दर्ता गरेको हाे । यो मुद्दामा एक जना भने अझै फरार रहेका छन् ।
उनीहरुविरुद्ध वान एक्स बेट नामक वेबसाइटको सट्टेबाजीसँग सम्बन्धित वेवसाइटको प्रचार गरेको आरोपमा पक्राउ गरिएकाे थियाे । उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कसुर गरेको, विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार जिल्ला सरकारी वकिल कार्यालयले अभियोग लगाएको छ । उनीहरुविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरिएको छ ।
नेपाल राष्ट्र बैंक ऐनको दफा ९५ अनुसार यी ८ जनासँग विगो जफत गरी सात वर्षकाे कैद सजाय तथा तीन गुणासम्म जरिवानाकाे माग दाबी गरिएको छ ।