सात नयाँ ब्रोकरले सुरु गरे मक ट्रेडिङ
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट पहिलो चरणमा आशय पत्र पाएका नयाँ ब्रोकर कम्पनीले मक ट्रेडिङ सुरु गरेका छन्। आइतबाट उनीहरूले मक ट्रेडिङ सुरु गरेको नेप्सेले जनाएको छ।
मक ट्रेडिङ एक किसिमको परीक्षण ट्रेडिङ हो। जसमा वास्तविक कारोबार भने हुँदैन। उक्त कारोबार परीक्षणको लागि गराइएको हो। सो परीक्षणमा केही त्रुटि देखिए नेप्सेले सच्याउन लगाउने छ भने त्रुटि नदेखिए नेप्सेले कारोबार सुचारु गर्ने अनुमति दिने छ। उक्त परीक्षण कति दिनमा सकिने भन्ने विषय भने यकिन गर्न नसकिने नेप्सेको भनाई छ। जुन ब्रोकर कम्पनीले जति छिटो परीक्षण पास गर्छन् त्यति छिटो कारोबार अनुमति पाउने बताइएको छ।
मक ट्रेडिङ कै समयमा ब्रोकर कम्पनी, नेप्से र सिडिएससीसँग हुने त्रिपक्षीय सम्झौता गरिने छ। सो सम्झौता पछि नयाँ ब्रोकर कारोबार राफसाफको लागि समेत योग्य हुने छन्। गत साता मात्रै नेप्सेले सात ब्रोकर कम्पनीलाई कारोबार सदस्यता सँगै ब्रोकर नम्बर प्रदान गरेको थियो।
जसमा भोले गणेश सेक्युरिटिजले ब्रोकर नम्बर ६१ पाएको थियो। त्यसैगरि क्यापिटल म्याक्स सेक्युरिटिज ब्रोकर नम्बर ६२ पायो। उता हिमालय ब्रोकरेजले ब्रोकर नम्बर ६३ पाएको थियो भने सन सेन्युरिटिज ब्रोकर नम्बर ६४ हुने भएको थियो। शेयर प्रो सेक्युरिटिजले ब्रोकर नम्बर ६५ मार्फत कारोबार गर्ने छ भने मियो सेक्युरिटिज ब्रोकर नम्बर ६६ मार्फत सञ्चालनमा आउने छ। प्रोपर्टी विजार्ड लिमिटेड ब्रोकर नम्बर ६७ को रुपमा रहने छ।