सडकमा फोहोर फाले ५० हजार जरिवाना | पहिलो चरणमा दरबारमार्ग, रत्नपार्क, शहिदगेट, पुतली सडक र बागबजारमा लागू हुने
काठमाडौं । काठमाडौं महानगरपालिकाका केही स्थानमा अबदेखि फोहोर फाल्नेलाई ५० हजारसम्म जरिवाना गर्ने व्यवस्था लागू हुँदै छ । काठमाडौं महानगरपालिकाले केही दिनभित्रै सडकमा जङ्क फूड (चाउचाउ, बिस्कुट, चिजबललगायत) का खोल फाल्नेलाई ५० हजारसम्म जरिवाना गर्ने व्यवस्था गर्न लागेको हो ।
घर, पसलबाट फोहोर र फूटपाथमा हिँड्ने बटुवाहरूले विष्कुटको खोल, पानपराग, गुड्खा, चुरोटको बट्टा आदि सडकमा फालेको पाइएकाले महानगरपालिकाले कडाइ गरेको हो ।
महानगरपालिकाको वातावरण विभागका प्रमुख हरि श्रेष्ठका अनुसार पहिलो चरणमा दरबारमार्ग, रत्नपार्क, शहिदगेट, पुतली सडक र बागबजारलगायत क्षेत्रमा त्यस्तो व्यवस्था लागू हुँदैछ । उनले भने, ‘यो व्यवस्था सफल भएमा मानिसहरूको धेरै भीड हुने अन्य क्षेत्रमा पनि विस्तार गर्दै लगिनेछ ।’
यस्तो व्यवस्था लागू गर्नका लागि महानगरपालिकाले सडक किनारमा यथेष्ट मात्रामा फोहोर राख्ने डष्टबिनको व्यवस्था गर्नेछ । महानगरले पसल सञ्चालकहरूलाई पनि पसल अगाडि डष्टबिन राखी त्यसको उपयोग गर्न अनुरोध गरिने बताएको छ ।
प्रमुख श्रेष्ठले आर्थिक पाटीलाई भने, ‘व्यापक मात्रामा जनचेतना फैंलाउँछौं, पसलेहरूलाई पनि जानकारी गराउँछौं, आवश्यक मात्रामा डष्टबिनहरूको व्यवस्था गर्छौं नटेर्नेलाई कानूनअनुसार कारबाही गर्छौं ।’
उनका अनुसार नियम उल्लंघन गरेको फेला परेमा महानगरपालिकाले ५० हजार रुपैयाँसम्म जरिवाना गर्नेछ । फोहोरमैला व्यवस्थापन ऐन, २०६८ दफा ३८ को खण्ड क, ख, ग, घ र ङ बमोजिमको कसुुर गर्नेलाई ५ हजार देखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको छ ।