नवनिर्वाचित सिएनआई पदाधिकारी–कांग्रेस सभापति देउवाबीच छलफल
काठमाडौँ । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीहरूको नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरूले मुलुकको अर्थतन्त्रका विषयमा छलफल गरेका हुन् ।
उक्त छलफलमा नवनिर्वाचित अध्यक्ष अग्रवालले मुलुकको वर्तमान अर्थतन्त्रका विषयमा जानकारी गराउँदै राजनीतिक दलहरूले आर्थिक मुद्धालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । अर्थतन्त्र सुधारका लागि आर्थिक विषयहरूलाई प्राथमिकतामा राखेर निकास दिनुपर्नेमा उनले जोड दिए । आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्तिका लागि आगामी मौद्रिक नीति लचिलो हुनुपर्नेमा पनि अध्यक्ष अग्रवालले जोड दिए ।
सो अवसरमा काँग्रेस सभापति देउवाले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिनुहुँदै अर्थतन्त्रको सुधार तथा निजी क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गरे । उक्त भेटमा उपाध्यक्षहरू विरेन्द्रराज पाण्डे, अमित मोर, भीम घिमिरे, पदाधिकारी समितिका स्थायी आमन्त्रित सदस्यहरू छायाँ शर्मा, गोकुल भण्डारी, महानिर्देशक दिपकराज जोशी सहभागी थिए ।