सेबीले घटायो आइपीओ सूचीकरण समय, बिक्री बन्द भएको ३ दिनभित्रै आइपीओ सूचीकरण गर्नुपर्ने
भारतको सेयर बजार नियामक ‘सेक्युरिटीज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)’ ले आइपीओ सूचीकरण समय घटाउने निर्णय गरेको छ । सेबीले एक महिना अघि आइपीओ सूचीकरण समय आधा घटाउने प्रस्ताव गरेको थियो । सेबीको बुधबार बसेको बोर्ड बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।
यससँगै, अब कुनैपनि आइपीओ बिक्री बन्द भएको ३ दिनभित्रै सेयर बजारमा सूचीकरण गराउनुपर्ने भएको छ । हाल भने भारतमा आइपीओ बिक्री बन्द भएको मितिले ६ दिनभित्र सेयर बजारमा सूचीकरण गराउनुपर्ने नियम रहेको छ । सेबीले नयाँ नियम दुई चरणमा लागू गर्ने भएको छ ।
नयाँ सूचीकरण समय सीमा आगामी सेप्टेम्बर १ वा सोभन्दा पछि खुल्ने सबै सार्वजनिक निष्कासनहरुको लागि स्वैच्छिक हुनेछ भने डिसेम्बर १ पछि जारी हुने सबै आइपीओहरुको लागि अनिवार्य हुनेछ । सेयरको सूचीकरण र कारोबारको लागि समयसीमा घटाउँदा आइपीओ निष्कासनकर्ता र लगानीकर्ताहरु दुवैलाई फाइदा हुने सेबीले जनाएको छ ।
निष्कासनकर्ताहरुले आइपीओमार्फत उठाएको पुँजीमा द्रुत पहुँच पाउने हुँदा व्यवसाय गर्न सहज हुनेछ भने लगानीकर्ताहरूले आफ्नो लगानीमा छिटो ऋण र तरलताको अवसर पाउनेछन् । सेबीले आइपीओ जारी गर्ने प्रक्रियामा सहभागी हुने सबै सरोकारवालाहरुसँग छलफल र परामर्श गर्नुका साथै विभिन्न परीक्षणहरुसमेत गरेर सूचीकरण समय घटाउने निर्णय गरेको हो ।