घरेलु महासंघका पूर्व अध्यक्ष श्रेष्ठको निधन, कुशल अभिभावक गुमायौँ : महासंघ
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघका पूर्व केन्द्रीय अध्यक्ष, सफल उद्यमी तथा समाजसेवी रमेश कुमार श्रेष्ठको निधन भएको छ । महासंघका अनुसार असार १३ गते बुधबार देहावसान भएको हो ।
तत्कालिन संघलाई महासंघमा परिणत गराउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका श्रेष्ठ २०५३ साल असारदेखि २०५५ साल पुस महिनासम्म महासंघको अध्यक्षको जिम्मेवारीमा रहेका थिए ।
महासंघको विकास र प्रगतिका लागि अहोरात्र खटिएका उनको सक्रियतामा काठमाडौँमा सार्कस्तरीय सेमिनार तथा सार्क मुलुकमा उत्पादित वस्तुहरूको औद्योगिक प्रदर्शनी सम्पन्न भएको थियो ।
विराटनगरमा स्थायी बसोबास रहेको उनकै नेतृत्वमा महासंघको सातौँ वार्षिकोत्सव इतिहासमै भव्यताका साथ आयोजना भएको महासंघले जानकारी दिएको छ ।
उनको सवल नेतृत्वमा तत्कालिन अवस्थामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारसँग सम्बन्ध अभिबृद्धि गरी लघु, घरेलु तथा साना र महिला उद्यमीहरूको पक्षमा व्यापक कार्यक्रमहरू सञ्चालन हुन सकेको थियो भने महासंघलाई देश विदेशमा परिचित गराउन समेत उनको सवल नेतृत्व सफल भएको थियो ।
उनको निधनबाट महासंघको संस्थागत विकासमा समर्पित एउटा सफल अभिभावक गुमाउनु परेको महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले बताए ।
यस दुःखद घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै शोक मनाउने सिलसिलामा उनको सम्मानमा असार १५ गते शुक्रबार महासंघ केन्द्र, प्रदेश, जिल्ला तथा पालिका समितिका कार्यालयहरू एक दिनका लागि बन्द गरिने र महासंघको झण्डा आधा झुकाइने महासंघले जनाएको छ ।