विदाई वा स्वागत गर्नका लागि एयरपाेर्टमा तीन जना भन्दा बढी जान नपाइने
काठमाडौं । अब एक जना आफन्तजनको स्वागत तथा विदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन जना मात्र जान पाइने भएकाे छ। आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरूको संख्या बढिरहेकाे अवस्थामा विमानस्थल बाहिर भिडभाड नियन्त्रण गर्न नागरिक उड्डयन प्राधिरकणले यस्ताे कदम चाल्ने भएकाे हाे ।
विमानस्थलले मंगलबार एक सूचना जारी गर्दै भवन बाहिरको स्थानमा सीमितताका कारण व्यस्त समयमा एक जना यात्रुलाई विदाई तथा स्वागत गर्नका लागि तीन जना मात्र जान पाउने बताएकाे हाे।विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार भीडभाडले विमानस्थलमा सवारी ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको, प्यासेन्जर ड्रप एरियामा दुर्घटनाकाे जाेखिम हुनुकासाथै यात्रुको सहज आवतजावतमा अवराेध सृजना भएकाले यस्ताे व्यवस्था जारी गरेकाे जनाइएकाे छ ।
महाप्रबन्धक टेकनाथ सिटाैलाका अनुसार भिडभाडकाे समस्या तथा चुनौतीलाई मध्यनजर गर्दै अब विदाई तथा स्वागत गर्न आउने आफन्त तथा मित्रजनहरूको प्रवेशलाई न्यूनीकरण गर्न आवश्यक देखिएकाले एक जना यात्रुको लागि बढीमा तीन जना मात्र आफन्तजन आएर स्वागत तथा विदाई गरेर भिडभाड नियन्त्रणमा सहयोग गर्न अपिल गरिएकाे हाे ।