ऋण नतिर्ने बहानामा बैंकिङ सेवा अवरुद्ध गर्न खोज्नेलाई कारवाही गर्न बैंक तथा वित्तीय संस्था संघहरुको माग
काठमाडौं । ऋण नतिर्न बैंकिङ सेवा अवरुद्ध गर्न खोज्नेलाई कारवाही गर्न बैंक तथा वित्तीय संस्था संघहरुले माग गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, वित्तीय संस्था संघ र लघुवित्त बैंकर्स संघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कारवाहीको माग गरेका हुन् ।
ऋण लिए पछि तिर्नु पर्छ भन्ने सामान्य सिद्धान्त हामी सबैले बुझ्न पर्ने र ऋण नतिर्ने बहानामा यस प्रकारका अराजक गतिविधि गर्नेहरुलाई तुरुन्तै कारवाहीको दायरामा ल्याई शान्ति–सुरक्षा कायम गरी अत्यावश्यक सेवा बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुको संचालन तथा कर्मचारीहरुलाई आवश्यक सुरक्षा प्रदान गर्न सरोकारवाला सबै निकायहरुसँग अनुरोध गर्दछौं’ संघहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
आज पूर्वी नेपालको इटहरी, सुनसरी तथा विर्तामोड, झापा स्थित केही बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुको शाखामा केही व्यक्तिहरुले शाखा संचालनमा अवरोध गरेको, कर्मचारीहरुलाई धम्क्याएको उनीहरुले जनाएका छन् ।
साथै, ग्राहकहरुलाई अत्यावश्यक बैंकिङ सेवा लिनबाट बञ्चित गरेकोमा संघहरुले निन्दा गरेका छन् । उनीहरुले सुरक्षा निकायलाई यथाशिघ्र आवश्यक कदम लिई शाखा संचालन गर्न तथा कर्मचारी–ग्राहकको सुरक्षाको माग गरेका छन् । साथै, आगामी दिनमा यस प्रकारका कुनै पनि गतिविधिहरु भएको त्यसको विरुद्ध सशक्त रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।