अपर तामाकोशी उच्च बजार पूँजीकरण हुने दश कम्पनीभित्र पर्यो |
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा शेयर सूचीकरण गराएको एक हप्तामै अपर तामाकोशी हाइड्रोपावर नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये उच्च बजार पूँजीकरण हुने दश कम्पनीभित्र पर्न सफल भएको छ । कारोबार खुलेदेखि नै शेयरमूल्यमा सर्किट ब्रेक लाग्दा कम्पनी उच्च पूँजीकरण हुने कम्पनीमा समेटिन सफल भएको हो ।
अपर तामाकोशीको नेप्सेमा पुस २९ गते आइतबारदेखि शेयर कारोबार शुरु भएको थियो । कारोबार शुरु भएको दिनमा नै उच्च रेञ्जमा कारोबार भएको यस कम्पनीको शेयर कारोबार सोमबार दश प्रतिशतभन्दा बढी मूल्यमा कारोबार भएकाले कारोबार रद्ध भएको थियो । त्यसपछिका दिनमा पनि कम्पनीको शेयरमा सर्र्किट लागेर कारोबार हुँदा अन्तिम दिन बिहीबार ३११ रुपैयाँमा कारोबार बन्द भएको छ ।
तामाकोशीको १० करोड ५९ लाख कित्ता शेयर पुस २६ गते बिहीबार नेप्सेमा सूचीकृत भएको थियो ।
यस सात बजार पूँजीकरणका आधारमा नेपाल दूरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ । यस्तै दोस्रोमा स्थानमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंक, नबील बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, स्ट्याण्डर्ड चार्टड बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, एनआइसी एशिया बैंक, नेपाल एसबिआई बैंक र दशौं नम्बरमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ ।