वित्त आयोगको अध्यक्षमा पौडेल र समावेशी आयोगको अध्यक्षमा सुवेदी सिफारिश |
काठमाडौं । संवैधानिक परिषद्ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेललाई सिफारिश गरेको छ । परिषद्को आज आइतवार बसेको बैठकले पूर्वसचिव पौडेललाई आयोगको उक्त पदमा सिफारिश गरेको हो ।
यसअघि स्थानीय तह पुनंसरचना आयोगको अध्यक्ष पदमा रहेर काम गरिसकेका पौडेल स्थानीय स्वशासनका विज्ञ मानिन्छन् । प्रदेशहरूले धेरै पहिलेदेखि वित्त आयोग गठनको माग गर्दै आएका थिए । सरकारले पुस मसान्तभित्र आयोग गठन गर्ने वचन दिएकोमा बल्ल आयोगको अध्यक्ष सिफारिश गरेको छ ।
यस्तै, समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा डा. विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्यारीलाई सिफारिश गरेको छ ।