नेपाल टेलिकमको एफटीटीएच सेवा माग दर्ता १९८ मार्फत गर्न सकिने
काठमाडौं । नेपाल टेलिकमको एफटीटीएच सेवाको माग दर्ता १९८ मार्फत गर्न सकिने भएको छ । टेलिकमले अत्याधुनिक दूरसञ्चार सेवाहरु उपलब्ध गराउने क्रममा मुलुकभर एफटीटीएच सेवाको विस्तार गरिरहको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।
ग्राहकको माग बमोजिम केही स्थानहरुमा यस सेवाको पहुँच स्थापित गर्ने क्रम जारी नै रहेको छ । सेवाग्राहीहरुको मागलाई मध्यनजर गर्दै यस सेवाको उपलब्धताका सम्बन्धमा निःशुल्क नम्बर १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरी १ डायल गरी) मा डायल गरी ग्राहक सेवा केन्द्रका प्रतिनिधिर्फत आवश्यक जानकारी प्राप्त गर्न सकिने अधिकारीले बताए ।
भोलि असार ११ गते देखि एफटीटीएच सेवा प्राप्त गर्न चाहने मुलुकभरका सेवाग्राहीहरुले १९८–१ डायल गरी आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने छ । ती स्थानहरुमा कम्पनीले यथासम्भव छिटो एफटीटीएच जडान गरिने छ ।
नेटवर्क नभएका स्थानमा सम्भव भएसम्म पूर्वाधार निर्माण गरी एफटीटीएच सेवा उपलब्ध गराउने प्रवक्ता अधिकारीले बताए । एफटीटीएच सेवामा एउटै फाइबरबाट टेलिफोन, तीब्र गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध रहेको छ ।