प्रधानमन्त्री ओली आज स्वीट्जरल्याण्ड जाँदै |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्विट्जरल्याण्ड प्रस्थान गर्दै छन् । स्विजरल्यान्डको डाबोसमा यही जनवरी २२–२५ सम्म हुन गइरहेको वल्र्ड इकोनोमिक फोरममा सहभागी हुन प्रम ओली त्यसतर्फ जान लागेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।
टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत १९ सदस्य सहभागी रहनेछन् ।
सम्मेलनमा नेपालका तर्फबाट पहिलोपटक प्रधानमन्त्री सहभागी हुन लागेका हुन् । सम्मेलनमा ओलीले ३ वटा छुट्टाछुट्टै फोरममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनबाट विदेशी लगानी भित्र्याउन सहयोग पुग्ने विश्वास गरिएको छ । टोली माघ १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।