सहज हुन थाल्यो तरलता, सीडी रेसियो ८४ प्रतिशतभन्दा तल
काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा ५५ खर्ब ७३ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । केन्द्रीय बैंकको आइतबारसम्मको तथ्यांक अनुसार समग्र बैंक तथा वित्तीय संस्थामा ५५ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप रहेको छ । शनिबारको तुलनामा निक्षेप ५ अर्ब रुपैयाँले बढेको हो ।
वाणिज्य बैंकहरुसँग मात्रै ४९ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप रहँदा अन्य बैंक तथा वित्तीय संस्थासँग ६ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप रहेको केन्द्रीय बैंकले जनाएको छ । यता, आइतबार बैंक तथा वित्तीय संस्थाले समग्रमा ४८ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुले मात्रै ४२ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । अन्य बैंक तथा वित्तीय संस्थाहरुले ५ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
पछिल्लो तथ्यांकलाई हेर्ने हो भने केही समयदेखि कर्जा लगानी लगभग स्थीर जस्तो देखिएको छ । आइतबारको तथ्यांक अनुसार सीडी रेसियो भने ८३.८८% रहेको छ । शनिबार ८३.९३% थियो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको सीडी रेसियो घट्दो क्रममा छ ।
यसले बैंकहरुमा लगानीयोग्य रकम सहज हुँदै गएको देखाउँछ । तथापि, अर्थतन्त्रमा मन्दी र चर्को ब्याजदरका कारण कर्जा लगानी भने विस्तार हुन नसकेको जानकारहरु बताउँछन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएका छन् । यसले कर्जा विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
यता, बैंकहरुको अन्तर बैंक ब्याजदर पनि घट्दै गएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार आइतबारसम्म अन्तर बैंक ब्याजदर ४.५१% छ । शनिबार अन्तर बैंक ब्याजदर ४.७२% थियो ।