आन्तरिक उत्पादन प्रवद्र्धन गर्न आलु प्याजमा भ्याट लगाइयाे : अर्थमन्त्री महत
काठमाडौं । आन्तरिक उत्पादनमा मद्दत पुगोस्, नेपाली उत्पादन प्रवर्धन होस् भनेर आयात हुने आलु र प्याजमा भ्याट लगाइएको अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट पारेका छन् । मोरङ व्यापार संघको ६६ औं वार्षिक साधारणसभामा बाेल्दै महतले आम उपभोक्तालाई मर्का पार्न आलु र प्याजमा कर नलगाएकाे पनि बताएका छन् ।
उनले भने, ‘हामी कृषिप्रधान देश भन्छौं, आलु प्याज यति अर्बको आयात गर्ने ? आलु प्याज यहाँ उत्पादन गर्न नसक्ने? जमिन बाँझो छाड्ने, विदेशबाट किनेर मात्रै खाने? भन्ने बहसलाई मध्यनजर राखेर आलु प्याजमा कर लगाएका हौं । आम उपभोक्तालाई मर्का पार्न यो कर लगाइएको होइन । यो भन्सार दरले किसानका धेरै संगठनले स्वागत गरेका छन् । आयातमा मात्र भ्याट लाग्ने हो, आन्तरिक उत्पादनलाई यसले छुँदैन ।’
यसैगरी, उनले अहिले पूँजीगत खर्च कम भइरहेको तर साधारण खर्च घटाउन नसकेकाे पनि स्विकारेका छन् । ‘हाम्रो अर्थतन्त्रमा समस्याहरु छन्, यसअघि पनि मैले भनेकै हुँ, अहिले पूँजीगत खर्च कम भइरहेको छ । साधारण खर्च घटाउन सकिएको छैन । हाम्रो सामाजिक सुरक्षा र दायित्व बढी छ । विभिन्न किसिमका सहुलियत, भत्ता हामीले प्रतिस्पर्धा गरेर नै दिऔं । हाम्रो अर्थतन्त्रले कति धान्न त्यतातिर ध्यान दिएनौं, तर हामीले दिने प्रतिबद्धता गरें, त्यो प्रतिबद्धताबाट पछाडि हट्ने अवस्था रहेन । त्यसैले साधारण खर्च घटाउन सक्ने अवस्थामा हामी थिएनौं, तर प्रशासनिक खर्च हामीले कम गर्ने कोसिस गरेका छौं,’ उनले बताए ।
अर्थमन्त्री महतले पूँजीगत खर्च २ खर्ब विनियोजन भएको छ, हाम्रो ऋण र ब्याजको दायित्व बढ्दै गएपछि पूँजीगत खर्च कम हुन पुगेको बताएका छन् । उनका अनुसार भूकम्पका बेला लिएको ऋण अब तिर्ने बेला भएका कारणले गर्दा साधारण खर्च धेरै घटाउन नसक्ने, ऋण र ब्याजको दायित्व बढ्दै गएपछि पूँजीगत खर्चमा दबाब आएकाे हाे । मन्त्री डा. महतले भने, ‘जसले गर्दा हामीले पूँजीगत खर्चका लागि १७ प्रतिशत मात्र बजेट विनियोजन गर्न सक्यौं ।’
उनले थपे,‘वास्तविक पूँजीगत खर्च २७ प्रतिशत छ । साधारण खर्चकै शीर्षकमा प्रदेश र स्थानीय तहलाई दिने, स्वास्थ्य र शिक्षाको शीर्षकमा पनि पूँजीगत खर्चबाटै गरिनेछ । यो जोड्दा २७ प्रतिशत पूँजीगत खर्च पुग्छ, मन्त्रीले भने, ‘पूँजीगत खर्चमा सुधार गर्नु पर्दैन भन्ने मेरो मान्यता होइन । पूँजीगत खर्चलाई बढाउनुपर्ने आवश्यकता छ । विनियोजित पूँजीगत खर्चलाई प्रभावकारितालाई बढाउन जरुरी छ । मलाई विश्वास छ, आउँदो वर्ष हामी पूँजीगत खर्च बढी गर्न सक्छौं, यसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्छ । अर्थतन्त्र चलायमान भयो भने राजस्व वृद्धिमा सहयोग पुग्छ ।’
‘व्यवसायहरुको माग तीनवटा छन्, यो स्वभाविक हो । यो वर्षको अन्त्यमा आएर ब्याजदरमा सुधार आउन सक्छ । पूँजीगत खर्च र मौद्रिक नीतिले हाम्रो अर्थतन्त्रलाई चलायमान गर्छ । अहिले अर्थतन्त्रलाई चलायमान राख्न सकियो भने हामी अर्को वर्ष पूँजीगत खर्च बढाउन सक्छौं’, मन्त्री डा. महतको भनाइ थियो ।
हालै सार्वजनिक भएको बजेट महान हो म भन्दिनँ, दुई महिनाको अवधिमा बजेट बनाएको हो, उनले भने, ‘सिस्टमलाई रुपान्तरण गर्न धेरै कुराको अभ्यास हुन जरुरी छ । त्यो अभ्यास गर्ने समय मसँग थिएन । जति समय मैले प्राप्त गरें, त्यो समय मैले भरपूर उपयोग गरेर इमान्दारीपूर्वक बजेट तयार गरेको हुँ ।’