युवा उद्यमी मञ्चको आयोजनामा ‘मेड इन नेपाल-हाम्रो पनि, राम्रो पनि’ प्रदर्शनी शुरु
काठमाडौं । ‘मेड इन नेपाल-हाम्रो पनि, राम्रो पनि’ प्रदर्शनी सुरु भएको छ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) र भाट-भटेनीको सहकार्यमा सुरु भएको प्रदर्शनीको शनिबार उद्घाटन गरिएको हो । टंगालस्थित भाट-भटेनीमा आयोजित विशेष कार्यक्रमबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्घाटन गरे । नेपाली उद्योग, उत्पादन र सेवाहरूलाई प्रोत्साहन गर्नुका साथै स्थानीय उत्पादनहरूको उपयोगलाई प्रोत्साहित गर्ने लक्ष्यले प्रदर्शनी आयोजना गरिएको मञ्चका अध्यक्ष रितेश लामिछानेले बताए ।
‘मेड इन नेपाल’को आधिकारिक शुभारम्भ सन् २००६ जुलाई ११ मा होटल अन्नपूर्णमा भएको थियो । यस वर्ष भने नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) र भाट-भटेनीको सहकार्यमा प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनी काठमाडौंको टंगाल भाट–भटेनीबाट सुरु भइ देशै भरका भाट–भटेनीमा बिस्तार हुने बताइएको छ ।
‘नेपाली उद्यमीहरूको अपार सम्भावना देखाउन मेड इन नेपाल प्रदर्शनी जस्ता कार्यक्रमहरू महत्वपूर्ण छन् । नेपालमा उत्पादित उच्च गुणस्तरका उत्पादन र सेवाहरूको बारे जनचेतना जगाउनु अत्यावश्यक छ,’ अध्यक्ष लामिछानेले भने । हस्तकला, वस्त्र (टेक्सटाइल), खाद्य तथा पेय पदार्थ र प्रविधिलगायतका विविध नेपालमा बनेका उच्च–गुणस्तरका उत्पादनहरू प्रदर्शनीको मुख्य आकर्षण रहेका छन् ।
प्रदर्शनीले उद्योग व्यापारहरूलाई संभावित ग्राहकहरूसँग जोड्न र घरेलु र अन्तर्राष्ट्रिय स्तरमा विस्तारका लागि अवसरहरूलाई प्रदान गर्ने आयोजकको अपेक्षा छ । ‘मेड इन नेपाल’को प्रदर्शनीले नेपालमा उद्यमशीलता बढाउने र स्थानीय उत्पादन र सेवाहरूको महत्वलाई अझ उजागर गर्ने उद्देश्य राखिएको छ । प्रदर्शनी एक सातासम्म चल्ने छ ।