अमेरिकी सेयर बजार १४ महिनायताकै उच्च विन्दुमा
![American Sharemarket American Sharemarket](https://www.arthikpati.com/wp-content/uploads/2023/06/American-Sharemarket-1024x585.png)
काठमाडौं । अमेरिकी सेयर बजारमा सुधार आउने क्रम जारी रहेको छ । बिहीबार अमेरिकाको प्रमुख सेयर बजार सूचक ‘एस एन्ड पी ५००’ र ‘नास्ड्यक कम्पोजिट’ विगत १४ महिनायताकै उच्च विन्दुमा बन्द भएका छन् । अमेरिकी फेडरल रिजर्भले आफ्नो आक्रामक ब्याजदर वृद्धिको अभियानलाई निकट भविस्यमै अन्त्य गर्ने लगानीकर्ताको अनुमान छ ।
साथै, उक्त अनुमानलाई मलजल दिने गरी आर्थिक तथ्यांकहरु पनि सार्वजनिक भएपछि बिहीबार सेयर बजारमा सुधार भएको विश्लेषण गरिएको छ । उपभोक्ताहरुले सवारीसाधनसहित विभिन्न वस्तुहरूमा खर्च गरेपछि अमेरिकाको रिटेट (खुद्रा) बिक्री मे महिनामा अप्रत्याशित रुपमा बढेको तथ्यांकले देखाएको छ ।
साथै, बेरोजगारी दर पनि स्थिर रहेको, मे महिनामा आयात मूल्यहरु घटेको र मुद्रास्फीति वृद्धिदर पनि अपेक्षित भन्दा कम रहेको अर्को तथ्यांकले देखाएको छ । यता, फेडरल रिजर्भले १५ महिनाको निरन्तर वृद्धिपछि पहिलो पटक ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । यस वर्ष थप २ पटक ब्याजदर वृद्धिपछि सन् २०२४ बाट ब्यादर घट्ने अनुमान गरिएको छ ।
यी सबै कारणहरुले गर्दा बिहीबार एस एन्ड पी सूचक १.२२% ले बढेको छ भने नास्ड्यक सूचक १.१५% ले बढेको छ । सन् २०२३ सुरु भएयता एस एन्ड पी सूचक १५.७३% ले वृद्धि भइसकेको छ । यता, नास्ड्यक कम्पोजिट पनि ३२.६९% ले बढेको छ ।