’माउन्ट केटु’ आरोहणमा पूर्णिमा श्रेष्ठलाई आइएमई र आइएमई पेको साथ
काठमाडौं । नेपाली महिला हिमाल आरोही पूर्णिमा श्रेष्ठ पाकिस्तानको काराकोरम क्षेत्रमा अवस्थित आठ हजार मिटर माथिका ५ हिमालहरू चढ्न जादै छिन् । पूर्णिमाको यस प्रयासलाई सम्मान तथा साथ दिदै ‘आइएमई’ र ‘आइएमई पे’ले पूर्णिमाको आरोहण अभियानमा आर्थिक सहयोग गर्ने भएको छ ।
विश्वका सबै भन्दा उच्च १४ वटा शिखरहरू चढ्ने लक्ष्य राखेकी पूर्णिमाले काराकोरम हिमशृङखलाको ५ विभिन्न शिखर आरोहण गर्ने क्रममा विश्वको दोश्रो अग्लो हिमाल माउन्ट केटु पनि आरोहण गर्न लागेकी हुन् । ७५ दिन लामो सो आरोहण यात्रा जेठ ३० पश्चात सुरु भएको छ ।
संसारको १४ उच्च शिखर आरोहण गर्ने नेपाली नारी हुने तथा युवा तथा महिला सशक्तिकरण गर्ने लक्ष्यका साथ पूर्णिमाले आफ्नो यो आरोहण यात्रा सुरु गरेकी हुन् । फोटो पत्रकार समेत रहेकी पूर्णिमाले ६ वर्ष अघि पर्वतारोहणको यात्रा सुरु गरेकी हुन् । उनले नेपालमा रहेका आठ हजार मिटर माथिका ७ वटा शिखरहरू आरोहण गरी सकेकी छिन् ।