उन्नति माइक्रोफाइनान्सले माघ २६ गते डाक्यो साधारणसभा | २० प्रतिशत हकप्रद र ४०.५ प्रतिशत बोनस शेयर पारित गर्ने
काठमाडौं । उन्नति माइक्रोफाइनान्सका माघ १५ गतेसम्म कायम शेयरधनीहरूले २० प्रतिशत हकप्रद शेयर र ४०.५ प्रतिशत बोनस शेयर पाउने भएका छन् । संस्थाले शेयरधनीहरूका लागि चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँको २० प्रतिशत हकप्रद र ४०.५ प्रतिशत बोनस शेयर दिने भएको हो । उक्त हकप्रद र बोनस शेयर पारित गर्नका लागि संस्थाले यही माघ २६ गते चौथो वार्षिक साधारणसभा डाकेको छ ।
वार्षिक साधारणसभाको प्रयोजनका लागि संस्थाले माघ १६ गते बुक क्लोज गर्ने भएको छ । उक्त हकप्रद र बोनस शेयरपश्चात् संस्थाको चुक्ता पूँजी ८ करोड ८२ लाख रुपैयाँ पुग्नेछ ।
नेपाल राष्ट्र बैंकले संस्थाको स्थलगत निरीक्षणको क्रममा सर्वसाधारणको प्रतिनिधित्व नहुञ्जेल सञ्चालक समितिले गरेका निर्णय अनुमोदन नहुने भएकाले साधारणसभाले सर्वसाधारण समूहबाट दुई जना सञ्चालकको निर्वाचन गर्ने भएको छ । त्यस्तै संस्थापक शेयरधनीहरूको तर्फबाट पनि दुई जना सञ्चालकका लागि निर्वाचन गर्ने भएको छ ।
गत वर्षको पुसमा १ लाख ६५ हजार कित्ता प्राथमिक शेयर निष्कासन गरेको उक्त संस्थाले एक वर्षमा ४०.५ प्रतिशत बोनस शेयरसहित २० प्रतिशत हकप्रद निष्कासन गर्न लागेको छ ।