प्रम ओली माघ ६ गतेदेखि स्वीट्जरल्याण्ड भ्रमणमा | दुई÷चारवटा ठूला कम्पनीलाई नेपालमा भित्र्याउन सके प्रमको भ्रमणले सार्थकता पाउँछ : प्राडा पोखरेल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाबोसमा माघ ६ देखि १२ सम्म हुन लागेको ‘वल्र्ड इकोनोमी फोरम’ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्दै छन् । प्रमको उक्त भ्रमणले मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले प्रमको उक्त भ्रमणले नेपालमा लगानीको वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । आज शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा डा भट्टराईले मुलुकले लिएको आर्थिक विकासको लक्ष्यलाई पूरा गर्न सम्मेलनले ठूलो सहयोग पुग्ने बताए । उनले भने, ‘मुलुकले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पूरा गर्न सम्मेलनले थोरै भए पनि सहयोग पुर्याउनेछ ।’
विश्वका धेरै मुलुकका सरकार तथा राष्ट्रप्रमुख सहभागी हुने उक्त सम्मेलनमा आफ्नो देशको विकासका लागि हरेक देशले गरेका काम र आगामी दिनमा गर्ने कामका बारेमा सम्मेलनमा छलफल हुने भएकाले मुलुकको विकासका लागि सम्मेलन फलदायी हुने भट्टराईको भनाइ थियो ।
भ्रमणका क्रममा प्रधानमन्त्रीको विभिन्न सभा तथा विभिन्न देशका सरकार प्रमुख, राष्ट्रप्रमुख र व्यवसायीसँग भेटघाट हुने कार्यक्रमसमेत रहेकाले विश्वको आर्थिक विकासका बारेमा धेरै ज्ञानसमेत हुने उनको भनाइ छ ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले मुलुकमा लगानीको वातावरण घट्दै गएको वर्तमान अवस्थामा सम्मेलनले लगानीको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, ‘विश्वका दुई÷चारवटा ठूला कम्पनीलाई मात्र नेपालमा भित्र्याउन सके पनि प्रधानमन्त्रीको भ्रमणले सार्थकता पाउनेछ ।’
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले डाबोस सम्मेलनमा धेरै लगानीकर्तालाई नेपालमा लगानीका लागि आकर्षित गर्न प्रधानमन्त्री लाग्नुपर्ने बताए । उनले सम्मेलन राजनीतिक कुरा गर्ने थलो नभएर आर्थिक छलफल गर्ने थलो भएकाले जतिसक्दो धेरै लगानी मुलुकमा भित्र्याउने बाटोमा लाग्नुपर्ने उल्लेख गरे ।
स्वीट्जरल्याण्डका लागि पूर्वराजदूत डा. शम्भुराम सिंखडाले सम्मेलनको मुख्य एजेण्डा प्रविधिको विकास र वातावरण प्रभाव भए पनि मुलुकको आर्थिक विकासका लागि नेपालले सम्मेलनमा आवाज उठाउनुपर्ने बताए ।