वैशाखदेखि नै नेपाली कामदार जापान पठाउने गरी गृहकार्य हुँदै |

काठमाडौं । सरकारले नेपाली युवाहरूलाई जापानमा रोजगारीका लागि पठाउन द्रुत गतिमा गृह कार्य अगाडि बढाएको छ । आगामी वैशाखदेखि नै नेपाली कामदारलाई वैदेशिक रोजगारीका लागि जापान लैजाने गृहकार्य द्रुत गतिमा अघि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता नारायण रेग्मीका अनुसार नेपालबाट श्रमिकहरू जापान लैजाने सम्बन्धमा गत बुधवार पनि नेपाली र जापानी प्रतिनिधिमण्डलबीच औपचारिक छलफल भएको छ । उक्त छलफलमा विदेशी श्रमिकको व्यवस्थापन गर्नेसम्बन्धमा जापान सरकारबाट जारी भएका नयाँ कानुनी प्रावधानबारे जापानी पक्षले नेपाली पक्षलाई जानकारी गराएको थियो ।
प्रवक्ता रेग्मीले व्यवस्थित, सुरक्षित र मर्यादित रूपमा नेपाली श्रमिक जापानमा पठाउने सन्दर्भमा पारस्परिक हित प्रवद्र्धन हुनेगरी समझदारी कायम गर्न श्रमिक आप्रवासनका विविध आयाममा छलफल भएको बताए । उनले भने, ‘पारदर्शी र प्रतिस्पर्धी पद्धतिबाट उपयुक्त विधि, प्रणाली र संयन्त्रको विकास गरी आप्रवासनका क्षेत्रमा विश्वव्यापी रूपमा स्थापित भएका नवीनतम मान्यता एवम् मापदण्डअनुरुप श्रमिक पठाउने विषयमा जोड दिएका छौं ।’
प्रवक्ता रेग्मीले उच्चस्तरको समझदारी गरी छिट्टै नेपाली श्रमिकले नयाँ व्यवस्थाअनुरुप जापानमा काम गर्न पाउने वातावरणको सिर्जना हुने जानकारी दिए । त्यसका लागि दुवै देशले थप गृहकार्य गर्ने सहमति भएको उनले बताए ।
जापानको मन्त्रिपरिषद्ले गत महिना विदेशी कामदारसम्बन्धी एक सय २६ बुँदे नीति पारित गर्दै नेपालसहित ११ मुलुकबाट कामदार लैजाने निर्णय गरेको थियो । जापानले नेपालसहित कम्बोडिया, चीन, इन्डोनेसिया, मंगोलिया, म्यानमार, थाइल्यान्ड, फिलिपिन्स, भियतनामलगायतका देशबाट कामदार लैजाने निर्णय गरेको छ । पहिलो ५ वर्षमा यी मुलुकहरूबाट ३ लाख ४५ हजार १ सय ५० कामदार जापान जानेछन् । यसमध्ये नेपाललाई कति संख्यामा कोटा दिइन्छ भन्नेबारे भने यकिन भइसकेको छैन । कामदारका रुपमा जापान जान भने कुनै शुल्क लाग्ने छैन ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा जापान रोजगारीको मोडालिटी र सेवा सुविधाबारे टुंगो लगाउन आवश्यकताअनुसार दुई देशका प्राविधिक समितिको बैठक बसिरहेको छ । जापानले आउँदो अप्रिलदेखि कामदार लैजाने जनाएको छ ।