वातावरण विभाग ७ वटा चार्जिङ स्टेशन राख्ने तयारीमा |
काठमाडौं । वातावरण विभागले सातवटा चार्जिङ स्टेशन राख्ने भएको छ । परीक्षणका रुपमा साझा यातायातको पुल्चोकस्थित कार्यालय परिसरमा चार्जिङ स्टेशन राख्न लागिएको विभागले जानकारी दिएको छ ।
चार्जिङ स्टेशनका लागि उपत्यकामा जग्गा पाउन कठिन रहेका कारण साझा परिसरमा राख्न लागिएको हो । साझा परिसरमा जग्गा र विद्युतको सहज पहुँच भएकाले परीक्षणका रुपमा राख्न लागिएको बिभागको भनाई छ । विभागका अनुसार चार्जिङ स्टेशन राख्न ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ । विभागले नेपाल विद्युत प्राधिकरण र सरोकारवाला निकायसँग समन्वय गर्दै उपत्यकामा उपयुक्त ठाँउ हेरेर स्टेशन बनाउँदै जाने जानकारी दिएको छ ।
विभागले सरोकारवाला निकायहरुसँग चार्जिङ स्टेशनका विषयमा छलफल गरेको छ । छलफलमा अटोमोबाइल व्यवसायी, नेपाल विद्युत प्राधिकरण, वातावरणविद्, साझा यातायात, सुन्दर यातायात लगायतका प्रतिनिधी सहभागी थिए ।
एसी भन्दा डीसी चार्जिङ स्टेशन निर्माण गर्दा उपयुक्त हुने निष्कर्ष निकालिएको छ । डीसी चार्जिङ स्टेशनले छोटो समयमा धेरै चार्ज गर्न सक्ने र धेरै फिचर हुन्छ ।