विश्वकै ठूलो कुम्भ मेला प्रयागराजमा शुरु, गंगामा डुबल्की लगाउदा अमरत्व मिल्ने विश्वास |
काठमाडौं । विश्वकै ठूलो मानिने कुम्भ मेला हिजोबाट भारतको प्रयागराजमा शुरु भएको छ । पहिलो दिन शाही स्नान शुरु भएको हो । राजयोग स्नान पनि भनिने शाही स्नानलाई कुम्भ मेलाको शुरुवात मानिन्छ ।
४९ दिनसम्म चल्ने कुम्भ मेलामा करोडौं व्यक्तिहरुले गंगा नदीमा स्नान गर्छन । कुम्भ मेलाको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले सबैलाई शुभकामना दिएका छन् र कुम्भ मेलामा सहभागी हुन अपिल पनि गरेका छन् ।
आजबाट शुरु भएको कुम्भ मेला ४ मार्चमा समापन हुने छ । यसबीच मुख्य पर्वहरुमा शाही स्नान हुन्छ । शाही स्नान हेर्नका लागि प्रयागराज जिल्लाका स्कुल–कलेजमा समेत तीन दिनसम्म बिदा दिइएको छ । सवारी साधनहरुलाई शहर प्रवेशमा रोक लगाइएको छ ।
१२ करोड उपस्थित हुने अनुमान
यस वर्षको कुम्भ मेलामा १२ करोड सहभागी हुने अनुमान गरिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । करिब १० लाख विदेशी नागरिक पनि सहभागी हुने अनुमान छ ।
उत्तर प्रदेश सरकारले यस वर्षको कुम्भ मेला सबैभन्दा भव्य भनेको छ र सरकारले यसको प्रचार प्रसारमा निकै मेहनत गरेको छ ।
कुम्भ मेला आयोजना हुने प्रयागराज ब्रह्माण्डको उदगम स्थल मानिन्छ । पृथ्वीको केन्द्र पनि यहीँ पर्ने मान्यता छ । धार्मिक ग्रन्थहरुमा उल्लेख भएअनुसार सृष्टि निर्माण गर्नुभन्दा अगाडि ब्रह्माले यही स्थानमा अश्वमेघ यज्ञ आयोजना गरेका थिए । यहाँको गंगा नदीमा स्नान गर्नाले सुख, समृद्धि र पाप मोचन हुने धार्मिक विश्वास छ । त्यसैले प्रयागराजमा हुने कुम्भ मेलामा करोडौं मानिसहरु ओइरन्छिन् ।
यस पटक कुम्भ मेला क्षेत्र करिब ४५ वर्ग किलोमिटरसम्म फैलिएको छ । जबकी यसअघि २० वर्ग किलोमिटर क्षेत्रमा मात्र हुन्थ्यो । मेला स्थल फराकिलो बनाइएपछि स्नान क्षेत्र पनि थपिने र भिडभाड कम हुने अपेक्षा गरिएको छ ।
कुम्भ मेलाको क्रममा प्रयागराजमा टेन्टको विशाल अस्थायी शहर निर्माण हुन्छ । सरकारी तथ्यांकअनुसार कुम्भ मेला आयोजनामा यस वर्ष चार हजार करोड भारतीय रुपैयाँभन्दा बढी खर्च गरिएको छ ।
शाही स्नान सम्पन्न
स्थानीय प्रशासनले साधु सन्तहरुका लागि कुल १३ क्षेत्रमा शाही स्नानको समय र अवधि तोकिदिएको छ । १५ जनवरी अर्थात हिजो बिहान ५ बजेर १५ मिनेटबाट शाही स्नान शुरु भएर साँझ चार बजे सकिएको छ । शाही स्नानका लागि हरेक क्षेत्रमा ४५ मिनेट समय छुट्टाइएको थियो ।
शाही स्नान गर्न साधुसन्तहरु सुन–चाँदीले बनेका पालकी र हात्ती–घोडा चढेर जान्छन् । उनीहरुले परम्परागत शस्त्र–अस्त्र बोकेका हुन्छन् । यसक्रममा साधु सन्तहरुले आ–आफ्नो क्षेत्रको शक्ति र वैभवको प्रदर्शन गर्दछन् । साथै शस्त्र र शास्त्रहरुको समन्वयको सन्देश पनि दिन्छन् ।