चोभारको सुख्खा बन्दरगाहको शिलन्यास विहिबार हुने |
काठमाडौं । चोभारमा आधुनिक सुख्खा बन्दरगाह निर्माण शुरु गर्न लागिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विहिबार बन्दरगाहको शिलन्यास गर्दैछन्।् ।
बन्दरगाह निर्माणको जिम्मा आशिष र साक्षी ज्वाइन्ट भेन्चरले पाएका छन् । आशिष कन्स्ट्रक्सन नेपाली कम्पनी हो भने साक्षी चिनियाँ कम्पनी हो । निर्माण शुरु हुनै लाग्दा स्थानीयको विरोध शुरु भएको थियो ।
स्थानीयले हिमाल सिमेन्ट कारखानाले पुर्याएको क्षतिपूर्ति पाउनुपर्ने, कारखानाको जग्गा स्थानीयलाई फिर्ता गर्नुपर्ने , कर्मचारीले पाउनुपर्ने पारिश्रमिक लगायतका मागहरु राखेका थिए । स्थानीयको माग पूरा गर्दै विकासको काम अघि बढाउने बताइएको छ ।
पाँच महिनासम्म स्थानीयको अवरोधका कारण काम गर्न नसकेपछि निर्माण कम्पनीले इक्विपमेन्ट भने हटाएका छन् । विश्व वैकको १ अर्ब २८ करोड रुपैयाँ सहयोगमा बन्दरगाह निर्माण गर्न लागिएको हो । समिति र निर्माण कम्पनीका वीचमा भएको सम्झौता अनुसार १८ महिनामा बन्दरगाह तयार गर्ने डेडलाइन तोकिएको छ ।
सरकारले चोभारलाई ट्रान्जिट हबका रुपमा विकास गर्न लागेको छ । चोभारमा बन्न लागेको बन्दरगाहमा बाहिरी चक्रपथ, काठमाडौं˗तराई र मधेश जोड्ने दु्रतमार्ग, चीन र भारतबाट आउने रेललाई पनि जोडेर ट्रान्जिट हब बनाउन लागिएको हो ।
हिमाल सिमेन्टको अलपत्र परेर बसेको जग्गालाई उपयोग गर्दै बन्दरगाह निर्माण गर्न लागिएको हो । बन्दरगाहमा एउटा मूख्य प्रशासनिक भवन हुनेछ । उक्त भवनमा अध्यागमन, भन्सार, बैक तथा वित्तीय संस्था, क्वारेन्टाइन लगायतका कार्यालय रहनेछन् । बन्दरगाहका लागि आवश्यक सबै कार्यालय मूख्य भवनमा रहनेछन् । आयात र निर्यातका लागि छुट्टाछुट्टै टर्मिनलहरु निर्माण हुनेछ । ६ सय कन्टेनर अटाउने क्षमताको पार्किङ निर्माण गरिनेछ । बन्दरगाह करिव २ सय रोपनी क्षेत्रफलमा फैलनेछ ।